कैलाली । विपद् व्यवस्थापनका लागि कैलाली र बर्दियाका पालिकाबीच असल अभ्यास आदानप्रदान भएका छन् ।
कैलालीको टीकापुरमा भएको कार्यक्रममा टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकाका विपद् शाखा संयोजक लगायतका प्रतिनिधि सहभागी थिए । टीकापुर नगरप्रमुख रामलाल डगौरा थारूको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाले गरेका असल अभ्यास, एकअर्काका सिकाइ आदानप्रदान गरिएको थियो ।
अन्तरपालिकाबीच भएको छलफलमा विपद्का समयमा कैलाली र बर्दियाका पालिकाबीच समन्वय गर्ने कुरामा छलफल भएको थियो । यसअघि आगलागीजस्ता घटनामा दमकल सहायता कार्यमा सहकार्य गर्दै आएका बर्दियाको राजापुर, गेरुवा, टीकापुर, जानकी, भजनीजस्ता पालिकाले आउँदा दिनमा बाढीजन्य विपद्मा पनि सहकार्य गर्ने बताएका छन् । बाढी आइहालेमा एकअर्का पालिकामा रहेको जनशक्ति, खोज तथा उद्धारका सामग्री सघाउने बताएका छन् ।
बर्दियाको गेरुवा गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति कृष्ण सोडारीले गेरुवाका छवटै वडा कर्णाली र गेरुवा नदीको जोखिममा रहेको बताए । सात हजार सात सय ६२ घरपरिवार तथा ३३ हजार जनसङ्ख्या रहेको गेरुवा गाउँपालिकामा सनकट्टी, वनकट्टी, गेरुवा गाउँ, राजीपुर, शान्तिबजारलगायतका क्षेत्रमा डुबानको जोखिम रहेको बताए । “विपद् व्यवस्थापन कोषमा ७० लाख रकम छ, त्यही कोषबाट राहत, उद्धार तथा विपद् व्यवस्थापनमा काम गर्छौँ”, उनले भने, “पालिकाका सबै वडा विपद्को जोखिममा छन् । यस वर्ष बढी वर्षा हुने भनिएकाले अहिलेदेखि नै पूर्वतयारीमा जुटेका छौँ ।”
जानकी गाउँपालिका विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैशी पालिकाले बाढीलाई प्राथमिकता दिएर काम गरिरहेको बताउछन् । पालिकाले आगामी वर्षका लागि कुल बजेटको १० प्रतिशत बजेट सुनिश्चित गरेको र विपद् व्यवस्थापन कोषमा रु ५० लाख रकम व्यवस्था गरेको जानकारी दिए ।
“जानकीमा बाढीको जोखिममा रहेकालाई मौसम पूर्वानुमानसम्बन्धी सूचनाका आधारमा अग्रिम नगद सहायता वितरणका लागि तथ्याङ्क लिने काम भइरहेको छ”, उनले भने, “बाली बीमामा किसानलाई जोड्ने र स्थानीय पाठ्यक्रममा विपद्का कुरा, विपद् डायरी निर्माणजस्ता कार्य गरेका छौँ ।” पालिकाका अनुसार जानकीमा आठ सय ९३ घरपरिवार बाढीको जोखिममा छन् ।
टीकापुरमा सातवटा संस्थाले विपद्मा काम गरिरहेका छन् । टीकापुरमा नगरस्तरीय विपद् व्यवस्थापन समितिको नियमित बैठक बस्ने गरेको छ । टीकापुर नगरपालिका विपद् सम्पर्क व्यक्ति निर्मला चौधरीले टीकापुरले बाढीको मापनका लागि स्थानीय ‘गेज स्केल’ राखेका, खोज तथा उद्धारमा सहजताका लागि ‘ड्रोन क्यामेरा’ खरिद गरेको बताइन् ।
बाढीको पूर्वतयारीका लागि टीकापुर नगरपालिकामा ११ उच्च भवन छन् । दुईवटा सामग्री भण्डारण कन्टेनर, ५० थान त्रिपाल, एक सुरक्षित उच्च अन्न भण्डार, वडा नं ५ मा तीनवटा अन्न बैंक स्थापना, समुदायको अगुवाइमा जैविक तटबन्ध निर्माणजस्ता कार्य भएका छन् ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भूमिश्वर पोखरेलले पूर्वतयारी गर्न सामग्री र जनशक्ति अभाव हुन नदिनेमा सचेत रहन सुझाव दिए । उनले विपद्मा एकअर्कालाई दोष दिनुभन्दा मिलेर काम गर्न र पूर्वसूचना संयन्त्रको प्रयोग बढाउनुपर्ने बताए ।
इलाका प्रहरी कार्यलय टीकापुरमा प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले विपद् रातिको समयमा समेत आउनसक्ने भएकाले हरेक समयमा प्रतिकार्यमा खटिने गरी तयारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले समन्वय बैठकले एकअर्कासँग समन्वय हुने गरेको बताए । जानकीले दमकल खरिद गर्ने नीति लिएको बताउँदै अहिलेसम्म टीकापुरको प्रयोग गरिरहेका बताए ।