तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाद्वारा ‘ग र ‘घ वर्गका अपाङ्गता भएका दश जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुईरदुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्य गाउँपालिकाको रहेको स्थानीय अपाङ्गता समन्वय समिति सदस्य सचिव हिरामान श्रेष्ठले बताए । उनका अनुसार घिरिङ–१ बाट तुलसी कुमाल, बिष्ने दमाई, वडा नं २ बाट पदम थापा, सोमबहादुर दमाई, वडा नं ३ बाट सुकमाया सार्की, मनकुमारी श्रेष्ठ, वडा नं ४ बाट भुरेली कुमाल, सुकमाया कुमाल र वडा नं ५ बाट उमा थापा र ऋतिक श्रेष्ठलाई बाख्रा वितरण गरिएको छ ।
वडा नं ५ निवासी २८ वर्षीय सङ्गीता नेपाली दुवै खुट्टा टेक्न नसक्ने अशक्त रहेकीले दुईवटा ‘क्यालिपर’ खुट्टा जडान गर्ने पहल भइरहेको श्रेष्ठले बताए ।
‘क र ‘ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि राज्यले मासिक भत्ताको व्यवस्था गरेको छ, समिति सदस्य सचिव श्रेष्ठले भने, ग र घ वर्गका अपाङ्गता भएकालाई यस वर्षदेखि गाउँपालिकाले आयआर्जनतर्फ उन्मुख गराउन थालेको हो । उनका अनुसार गाउँपालिकाभित्र दुई सय ८२ जनाले विभिन्न किसिमका अपाङ्गता परिचयपत्र लिइसकेका छन् ।
ग वर्गका ४९ र घ वर्गका १४ गरी ६२ जना मध्यम र सामान्य किसिमका अपाङ्गता रहेका अपाङ्गता समन्वय समिति सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिए । परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिमा थप उत्साह मिलेको छ । उनले भने, गाउँपालिकाले उदाहरणीय कार्य सुरु गरेको छ, यसबाट अपाङ्गता भएका व्यक्तिले राहतको महसुस गरेका छौँ ।
शारीरिक रूपमा अशक्त व्यक्तिको जीवनस्तर उकास्न गाउँपालिकाले पहलकदमी गर्दै आएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । उनका अनुसार मध्यम र सामान्य गरी ६२ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्न पालिकाले प्रक्रिया अगाडि बढाइसकेको छ । उनले भने, आर्थिक वर्ष २०८० र ८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न रु चार लाख बजेट विनियोजन गरिएको थियो ।