सुदूरपश्चिम । कैलालीको गौरीगंगा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको बुधबार मृत्यु भएको छ ।
काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएका थिए । तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उनको शव फेला पारेको मसुरियास्थित ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश सरकार, प्रदेश आपतकालीन सञ्चालन केन्द्रका अनुसार वर्षासँगै नदी तथा खोलामा बढेको पानीको बहावका कारण कैलालीको घोडाघोडी नगरपालिकाको चुड्डीकाँडा नदीको काठेपुल र डोडा नदीको काठे पुल बगाएको छ । पुल बगाउँदा आवागमन बन्द भएको छ ।
वर्षासँगै भजनी नगरपालिका, कैलारी गाउँपालिका क्षेत्रमा बाढी बस्तीमा पसेपछि १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार नजिकैको अग्लो स्थानमा रहेको आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
धनगढी उपमहानगरपालिकाको शिवनगर, वसन्त टोल लगायत बस्ती जलमग्न भई कतिपय परिवारको घरमा पानी पसेको छ । वर्षासँगैको डुबानले जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभागका बस्ती प्रभावित भएका छन् ।
अविरलको वर्षापछि जिल्लाका मोहना, खुटिया, पथरैया, मुढा, गोरीगंगा, कान्द्रा, शिवगंगा र काँडा नदीमा पानीको बहाव बढेको छ ।