काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट कानुन व्यवसायीहरूको छाता संगठन संघीय कानुन व्यवसायी संघको अध्यक्षमा दीपक राई निर्विरोध निर्वाचित भएका छन् ।
विक्रम कार्की प्रमुख निर्वाचन अधिकृत, नगेन्द्रकुमार कार्की निर्वाचन अधिकृत र लक्ष्मी सापकोटा निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
काठमाडौंमा सम्पन्न संघको दुई दिने प्रथम राष्ट्रिय सम्मेलनले राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षहरूमा आशा राई, रुद्रप्रसाद राई, दीपनारायण यादव, किरणकुमारी शाह, चित्रबहादुर केसी, महेशनारायण दास र भगवती सुवेदी चयन भएका छन् ।
महासचिवमा सञ्जयकुमार शाह, सचिवमा प्रिती रमण र कोषाध्यक्षमा ओमनारायण श्रेष्ठ चुनिएका छन् । त्यसैगरी, संघको सदस्यमा अशोक राई, रामचन्द्र महतो, उमाशंकर देव, सावित्रीकुमारी खतिवडा, जहरसिंह राई, चन्द्रादेवी थापा, सौजन थापामगर, संगीता राई, आदर्शकुमार सहनी र अस्मिता थापा निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष राईका अनुसार सम्मेलनले समानुपातिक समावेशी न्यायालय हुनुपर्ने, कार्यपालिका र व्यवस्थापिका जस्तै अधिकार सम्पन्न संघीय संरचनाको व्यवस्था हुनुपर्नेलगायत विषय पारित गरेको छ ।
सम्मेलनले कानुन व्यवसायीहरूद्वारा नै यस व्यवसायलाई सम्मानित, व्यावसायिक र मर्यादित बनाउन पहल गर्नुपर्ने र नवोदित कानून व्यवसायीलाई व्यावसायिक सफलताका लागि अग्रज कानुन व्यवसायीद्वारा निरन्तर सहयोग पुर्याउनुपर्ने विषय पारित गरेको छ ।