काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने तथा विशेषज्ञ स्वास्थ्य सेवालाई बीमामार्फत् गर्ने योजना अघि बढाइएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री यादवले हरेक नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गरी निरोगिता र मृत्युदर घटाउने गरी स्वास्थ्य मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट केन्द्रित भएको बताए।
“आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत गर्ने मन्त्रालयको रणनीति छ । यसका लागि पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, न्यायोचित स्रोत र साधनको वितरण, विषम भौगोलिक अवस्थासँगै आकस्मिक स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको लगायतका चुनौती छन्”, मन्त्री यादवले भने, “यी चुनौतीको समाधान र दिगो विकासको लक्ष्य प्राप्तिमा व्यवस्थापिका र कार्यपालिकाका तर्फबाट सहयोगको खाँचो छ ।”
आधारभूत स्वास्थ्य सेवा निःशूल्क रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन र सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्न सकिएमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न लाग्ने व्यक्तिगत खर्च कम गर्न सकिने उनले बताए । छ सय ५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजना रहेकामा तीन सय ९६ अस्पतालका लागि मात्र स्रोत सुनिश्चित भएको उल्लेख गर्दै मन्त्री यादवले दुई सय ५९ अस्पतालको स्रोत सुनिश्चित नभएकाले स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग माग गरिएको बताए । हालसम्म चार सय १५ अस्पताल निर्माणाधीन अवस्थामा रहेका र ५० आधारभूत अस्पताल निर्माण भइसकेका उनले जानकारी दिए ।
निर्माणाधीन आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू र आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न गरी औजार उपकरण तथा जनशक्तिको व्यवस्था गर्न मन्त्रालयले प्राथमिकताकासाथ काम गरिरहेको मन्त्री यादवले बताए। जनशक्ति व्यवस्थापन गर्न आधारभूत अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य अगाडि बढाइएको उनको भनाइ छ ।