काठमाडौं । डेङ्गु रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गुको संक्रमण बढ्न थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका १ हजार ४३२ जनामा संक्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको संक्रमण देखिएको जानकारी दिए ।
मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको संक्रमण बढ्ने आकलन गरेको छ ।
सबभन्दा बढी काठमाडौंमा १५९ जनामा डेङ्गु देखिएको छ । झापामा १२० र चितवनमा ८३ जनामा डेङ्गु संक्रमण देखिएको छ । उनले पानी संकलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । रोग शाखाका प्रमुख डा. दाहालले डेङ्गु संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले जनाएको छ ।