काठमाडौं । पुनर्निर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन ।
विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरूपमा क्षति भएको काष्ठमण्डप पुनर्निर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनर्निर्माण समितिले गत वर्ष असोज १५ गते नै काठमाडौं महानगरपालिकालाई कार्यसम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।
महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पुनर्निर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञ सहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ ।
प्रतिवेदन अध्ययनको काम पूरा भएसँगै काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्नेबारे यकिन हुने प्रमुख राईले बताए । निर्माण समितिले बुझाएको प्रतिवेदनलाई प्राविधिक, आर्थिक र कानूनी पक्षबाट अध्ययन गर्ने काम भइरहेको छ ।
विक्रम संवत् २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएको थियो । काष्ठमण्डप पुनर्निर्माण गर्न २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम गर्ने र खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने निर्णय भएको थियो । यसका लागि २०७५ जेठ २९ गते कामपा र समितिबीच पुनर्निर्माणका लागि सम्झौता भएको थियो ।
सम्झौतापछि काम सुरु गर्न कामपाले समितिलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते ५ करोड, २०७६ माघ ९ गते ५ करोड र २०७८ असार १६ गते १ करोड उपलब्ध गराएको प्रमुख राईले बताए ।
पुनर्निर्माणका लागि महानगरले उपलब्ध गराएको ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन तथा संरक्षण गर्न समितिले कामपालाई आग्रह गरेको छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरूपमा पुनर्निर्माण गरिएको हो ।