बाँके । वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन ।
पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।
दाउरा जम्मा गर्न गाउँपालिकाका विभिन्न स्थानमा सयौँ स्थानीय आज बिहानदेखि दिनभर व्यस्त रहे । नागरिक दाउरा संकलन गर्न पानीमा रुझ्दै बालबालिकादेखि युवा लगायत ज्येष्ठको घुइँचो देख्न सकिन्थ्यो । स्थानीयले लौरो (लामो कैंची लौरो) बनाएर त्यसैको सहयोगबाट नदीका दाउरा तानिरहेका देखिन्थे ।
डुडुवा–४ का पल्लवी वर्माले बिहान ११ बजेदेखि दाउरा जम्मा गर्न नदी किनारामा आएको बताइन् । उनले अहिलेसम्म करीब ८ क्विन्टल दाउरा जम्मा गरेको बताइन् । वर्माले संकलन गरेकामध्ये ठूला दाउरा बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको सुनाइन् ।
वर्मा जस्तै सोही गाउँपालिका–६ का गौरी यादव नदीबाट दाउरा झिक्न २ सन्तानसहित नदी छेउमा देखिइन् । ‘घरमा लोग्ने मान्छे कोही पनि छैनन्, त्यसैले ज्यानको बाजी लगाएर दाउरा झिक्नु परिरहेको छ,’ उनले भनिन्, ‘बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैन नि ! तर पनि दाउरा जोहो नगरेर हुँदैन ।’
गौरीले शनिबार करीब ९ क्विन्टल दाउरा जम्मा गरेको बताइन् ।
स्थानीय शेखर अन्सारी पनि बिहानै सपरिवार राप्ती नदीमा पुगे । उनीसँगै ७ वर्षीया छोरी र ९ वर्षीय छोरासहित वृद्ध आमाबुवा समेत थिए । शनिबार दिनभर १२ क्विन्टल जति दाउरा निकालेको र त्यसमध्ये केही बेच्ने योजना रहेको उनले सुनाए ।