सन् २०११ मा स्थापना भएको थापागाउँस्थित ‘प्रेसिडेन्टल बिजनेस स्कुल’का कार्यकारी अध्यक्ष हुन्- लक्ष्मण केसी । व्यवस्थापन र सूचना प्रविधिका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको प्रेसिडेन्टल बिजनेस स्कुलले १२ वर्षमा आफूलाई स्थापित गर्न सफल भइसकेकाे छ । सैद्धान्तिक ज्ञानका साथ-साथै व्यावहारिक ज्ञान (सीप) दिँदै आएको समेत बताउँछन् केसी । उनै अध्यक्ष केसीसँग व्यवस्था डटकमका लागि सुरज पराजुलीले गरेको कुराकानीको सम्पादित अंश:
११ कक्षाको भर्नाको समय भएर पनि होला हरेक स्कुलले केही न केही नयाँ गरिरहेको समय हो यो । हाल प्रेसिडेन्टल स्कुलले शिक्षा क्षेत्रमा दिइरहेको सेवा चाहिं के हो ?
हामीले व्यवस्थापन र सूचना प्रविधि गरी दुई संकायका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । व्यवस्थापन संकायमा बिबिए, एमबिए, एमबिए आइटी र एमबिए डेटा एनलाइसिस्ट गरी चारवटा कार्यक्रम सञ्चालन हुने गरेका छन् ।
बिबिए र एमबिएमा हामीले उद्यशीलता, मार्केटिङ, फाइनान्स, आपूर्ति श्रृखंला व्यवस्थापन जस्ता विशेष कार्यक्रममा ध्यान दिइरहेका छौं । साथै सूचना प्रविधि संकायमा स्कुल अफ टेक्नोलोजीअन्तर्गत हामीले बिएससी आइटी र एमएससी आइटी कार्यक्रम पनि प्रस्ताव गरिरहेका छौं ।
यस्ता विषय पढाउन कसकसले मान्यता दिएको छ ?
यी सबै कार्यक्रमहरू वेस्ट क्लिफ युनिभर्सिटी अमेरिकाको सम्बद्धतामा शिक्षा मन्त्रालयको अनुमति लिएर नेपालमा सञ्चालन गरिएको हो । त्रिभुवन विश्वविद्यालयले ती सबै कार्यक्रमलाई समकक्षता प्रदान गरेको छ । विश्वविद्यालय अनुदान आयोगबाट पनि मान्यता प्राप्त गरेको छ ।
अमेरिकन् शिक्षा प्रणाली त्यसमा पनि व्यवस्थापन र सूचना प्रविधिको क्षेत्रमा अमेरिकालाई जननि झैं मानिन्छ । त्यो देशको चिरपरिचित, क्षेत्रीय अनुशासन प्राप्त विश्वविद्यालयको कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेका छौं । र कुनै विश्वविद्यालयले क्षेत्रीय अनुशासन प्राप्त गर्नु भनेको त्यो विश्वविद्यालय शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षा प्रदान गर्ने संस्था हो भन्ने अन्तर्राष्ट्रिय हिसाबले बुझिन्छ ।
अहिले काठमाडौं महानगरपालिकाले विद्यालयमा अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको छ । यो सान्दर्भिक लाग्छ । अथवा यसमा केही थप पनि गर्न सकिन्छ ?
पढाइ भनेको एउटा निश्चित विषयको बारेमा मात्र थाहा पाउनु या जान्नु होइन । पढाइलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्छ । हामीले पढ्ने अंक र भाषासँग जोडिएको कुरा नै हो । एउटा पाठ्यक्रम भित्र धेरै चिजहरू हुन्छन् । तर औपचारिक शिक्षाको दायराभित्र सबै कुरा समेट्न सकिँदैन । त्योभन्दा बाहिर पनि सिकाइ, बुझाइ र अनुभव आवश्यक हुन्छ । अतिरिक्त क्रियाकलाप गराउन अधिकांश स्कुलहरूले न्युनतम् मापदण्ड पुरा गरेका हुँदैनन् । खेल्ने-कुद्ने ठाउँ छैन, पूर्वाधारहरू पुगेको छैन । ठूला भनिएका स्कुलमा ५-६ हजार विद्यार्थी छन् । ब्रेक हुँदा उनीहरू कहाँ खेल्छन्, कसरी अतिरिक्त क्रियाकलापमा संलग्न हुन्छन् ? यस्ता विकृतिलाई कुनै हिसाबले नियमन गर्नुपर्छ । माध्यमिक तहसम्मको पढाइकाे जिम्मेवारी पालिकालाई दिइएको छ ।
समुदायसँग समन्वय गरेर ती विद्यालयलाई सुधार्न अतिरिक्त कुरामा ध्यान दिनुपर्छ । राज्यले शून्य लगानीमा यो सुविधा दिनसक्छ भन्ने मलाई लाग्छ । देशमा थुप्रै अवकास प्राप्त व्यक्तिहरू छन्, जो काम नपाएर घरमा बस्दा डिप्रेसनमा जानुपर्ने स्थिति छ । कुनै कलाकार, साहित्यकार, खेलाडी बुढेसकालमा घरमा बस्नुभन्दा नजिकैको विद्यालयमा आफ्नो सीप सिकाउन जाँदा राम्रो हुन्थ्यो ।
साहित्यकारले बच्चाहरूलाई कविता/कथा लेख्न सिकाउने, खेलाडी या प्रहरीले शारीरिक व्यायाम/आत्मरक्षा सिकाउने, प्रशासकहरूले प्रशासनसम्बधी ज्ञान दिने, सेनाले भइपरी आउने समयमा उद्दारका लागि गर्न सकिने कुरा बताउने, किसानले कृषिको बारेमा सिकाउने, वन वातावरणको मान्छेले पर्यावरणको ज्ञान दिने गर्न सकिन्छ । हामीले सामाजिक सुरक्षाको नाममा भत्ता दिएर यति धेरै मान्छेलाई राखिरहेका छौं । उनीहरूलाई प्रयोग गरेर सार्वजनिक शिक्षा सुधारको निम्ति शिक्षकको रूपमा प्रयोग गर्न सक्छौं ।
परीक्षा दिएर ग्यापमा बसेका युवा विद्यार्थीहरूलाई प्रयोग गर्न सकिन्छ । राम्रो कलेजमा पढ्न जान उनीहरूलाई यस कुराले मद्दत पनि गर्छ । यसरी हामीले च्यानलाइज गर्न सक्ने स्थिति बन्छ । राज्यले एउटा नीति बनाउने र स्थानीय तहले त्यसलाई लागू गर्ने गर्नुपर्छ । साथै प्राथमिक तहबाटै एउटा मापदण्ड तोकिदिनुपर्छ ।
विषय तथा शैक्षिक संस्थालाई लिएर विद्यार्थीमा अहिले अन्यौलता देखिन्छ, यसबारेमा के भन्नुहुन्छ ?
विद्यार्थीहरूमा हिजो पनि अन्यौलता थियो र आज पनि देखिन्छ । हामीकहाँ विद्यालयस्तरमा करिअर परामर्श गर्ने परिपाटी छैन । विकसित देशहरूमा ११-१२ मा पढ्ने विद्यार्थीहरूलाई बाहिर इन्टर्नसिप गर्न पठाउने, करिअर काउन्सिलिङ गर्ने, कुन विषय लिएर पढ्दा के हुन्छ भन्नेबारे जानकारी दिइन्छ । त्यस्तो वातावरण हाम्रोमा छैन । विद्यार्थीलाई विषय छान्नसमेत दबाब सिर्जना गरिन्छ । गलत विषय छान्न लगाइन्छ । तर हाम्राे स्कुलमा विद्यार्थीलाई गलत र निर्देशित किसिमको जानकारी दिएर प्रभाव पार्ने गर्दैनौं । हामी विद्यार्थीको रुचिलाई प्राथमिकतामा राख्ने गर्छौं । अभिभावकलाई विद्यार्थीको रोजाइअनुसार पढ्न दिन आग्रह गर्छौं । यदि जबरजस्ती वा बाध्य पारेर कुनै विद्यार्थीलाई पढ्न लगाइयो भने नकारात्मक प्रभाव पर्न सक्छ ।
नेपालको शिक्षा प्रणाली तपाईंलाई कस्तो लाग्छ, सुधार गर्नु पर्ने केही देख्नुहुन्छ ?
नेपालको शिक्षा प्रणाली निकै परम्परागत भयो । अन्तर्राष्ट्रिय हिसाबले प्रतिस्पर्धात्मक छैन । प्रतिस्पर्धात्मक हुन धेरै कुराहरू परिवर्तन गर्नुपर्ने देखिन्छ । जस्तो कि पाठ्यक्रमहरूलाई समयअनुसार अपग्रेड गर्ने प्रणाली बसाउनु पर्छ । राष्ट्रिय शिक्षा क्यालेन्डर लागू गरेर भर्ना, परीक्षा, नतिजाको तालिकाहरू प्रकाशित गर्नुपर्छ । र, मूल्यांकन प्रणालीमा ठूलो परिवर्तन ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।
हिजो गुरुकुल शिक्षा प्रणाली थियो । गुरुमात्र ज्ञानको स्रोत भएकाले विद्यार्थी गुरु भएको स्थानमा पुग्नुपर्थ्याे । प्रेसको विकास भएसँगै पुस्तकहरू छापिन थाले र गुरुकहाँ जानु परेन । विद्यार्थी विद्यालयमा गएर पढ्न थाले । र, अहिले सूचना तथा प्रविधि क्षेत्रमा ठूलो परिवर्तन आएको छ । हामीले एआइसँग प्रतिस्पर्धा गर्ने खालको मानसिकताको तयारी हुनुपर्ने देखिन्छ ।
विद्यार्थीहरूको रचनात्मकता बढाउने, कमन सेन्सको विकास गर्ने, अनुसन्धानात्मक कार्यमा सक्रियता बढाउने र समीक्षात्मक सोचको विकास हुने वातावरण बनाउनु पर्छ । सोही अनुरूपको मूल्यांकन गर्ने प्रणाली हुनुपर्छ । यी कुरा तुरुन्त गरिएन भने हामी यति पछि पर्छौं कि हाम्रो शिक्षा प्रणालीको उच्च शिक्षा धरासायी हुन पनि सक्छ ।
नेपाली राम्रोसँग बोल्न नजान्ने विद्यार्थीहरूको संख्या दिनप्रति दिन बढ्दो छ, यसलाई कसरी सुधार्न सकिन्छ ?
अंग्रेजीमा बोल्न सजिलो मान्ने धेरै बच्चाहरू छन् । हामीले प्राथमिक तहदेखि माध्यमिक तहको विद्यालयबाटै यसको प्रयास गर्नुपर्छ । हाम्रो आफ्नो मातृभाषा, आफ्नो मौलिकता सबै मेटिने गरी काम गर्नुपर्छ र अहिलेको समयमा अंग्रेजी भाषा पनि जान्नै पर्छ । अन्तर्राष्ट्रिय हिसाबले निकै प्रतिस्पर्धात्मक हुन जरुरी भएकाले पनि अंग्रेजी आवश्यक छ ।
यद्यपि अंग्रेजी जति आवश्यक छ त्योभन्दा धेरै नेपाली वा मातृभाषा पनि जान्न आवश्यक छ । यसको लागि कलेजहरूले भन्दा पनि विद्यालयले मूलतः ध्यान दिनुपर्छ । साथै राज्यले ध्यान दिनुपर्छ । अंग्रेजी भाषाप्रतिको मोहको नाममा नेपाली भाषा जान्दै नजान्ने, लेख्नै नसक्ने स्थिति बनाउन छोड्नु पर्छ । त्यसलाई सुधार्नको निम्ति सरोकारवाला निकाय तथा स्थानीय तहले समेत ध्यान दिनुपर्छ ।
अहिले स्नातक पढ्ने विद्यार्थी पाइँदैन भन्ने एक अध्यययनले देखाएको छ । अधिकांश नेपाली विद्यार्थीहरू बाहिर पढ्न गइरहेका छन्, जसले देशको अर्थतन्त्रमा ठूलो असर पारेको छ । यसलाई कसरी रोक्न या कम गर्न सकिन्छ ?
यसलाई रोक्न सकिँदैन, कम गर्न भने सकिन्छ । अहिले विश्वव्यापी युगमा कुनै पनि विद्यार्थी नेपालमा मात्र बसेर पढ्नुपर्छ भन्न मिल्दैन । हामीले त यहाँ राम्रो शैक्षिक वातावरण सिर्जना गर्ने हो । जस्तै, अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयमा हुने पाठ्यक्रम यहाँ पढाउने गर्नुपर्याे ।
विद्यार्थीले अध्ययनका लागि प्रयोग गर्ने स्रोत सामग्री सजिलै उपलब्ध हुन सक्नुपर्याे ।युरोप अमेरिकन मूलकमा भन्दा दुई तिहाइ सस्तो शुल्कमा सम्पूर्ण पाठ्यक्रम यहाँ उपलब्ध हुनुपर्यो ।
सूचना प्रविधिको कारणले गर्दा ज्ञानमा पहुँच पुगेको छ तर गुणस्तर शिक्षाको लागि विद्यार्थीहरू विदेशिनु पर्ने अवस्था छ । नेपालमा पठनपाठन नहुने विषयबाहेक अहिले कुनै पनि विषय अध्ययन गर्नका लागि बाहिर जानुपर्ने अवस्था म देख्दिनँ । त्यस्तो हुनु अवसरको कमी पनि हो । यस्तो हुनु राज्यको पनि केही कमजोरी देखिन्छ । यहाँ राजनैतिक स्थिरताले पनि यस्तो हुन सक्छ । नयाँ पुस्तालाई आशा जगाउन सकेका छैनौं ।
एउटा कुनै विद्यार्थी अष्ट्रेलिया अथवा कुनै बाहिरको देश पढ्न जानुपर्याे भने राज्यले र नेपालको बैकिङ प्रणालीले सहज रूपमा ऋण उपलब्ध गराउँछ । तर नेपालकै कलेजमा पढ्ने इच्छा गर्ने विद्यार्थीले पढ्नलाई ऋण पाउने सम्भावना छैन । उच्च शिक्षाका लागि ऋणको सुविधा मात्र दिने हो र पठनपाठन सकेर काम सुरु गरिसकेपछि किस्ताकिस्तामा तिर्न मिल्ने व्यवस्था गर्ने हो भने बाहिर पढ्न जाने विद्यार्थी आधा घट्ने थिए । नेपालमै अवसर सर्भाइभ हुने खालको रोजगार सिर्जना हुनसके युवा तन्नेरी विदेश जानु पर्दैनथ्याे ।
तर युवाहरू त ‘नेपालमा अवसर नै छैन’ भन्छन् नि ?
केही हदसम्म सही पनि हो । तर अवसर छैन भनेर नेपालमा कोसिस नै नगर्नेहरू पनि छन् । काम नपाउने समस्या हाम्रोमा छैन । तर काम गरेवापत जीवन धान्न गाह्रो छ । कम्पनीहरूले जुन माग गरिरहेका छन्, त्यो पूरा हुन सकेको छैन तर महंगीका कारण कम्पनीले दिएको पैसाले जीवन धान्न सकिन्न । हाम्रा आवश्यकताहरू पनि बढ्दो छ । नेपाली सामानभन्दा विदेशी सामानमा हामी लक्षित छौं, त्यो महंगाे छ । तर नेपालको कमाइले पुग्दैन । तर केही सीप भएका विद्यार्थी पलायन हुनु परेको छैन । जस्तै: आइटीको कुरा गर्ने हो भने हामीले अनुमान गरेभन्दा राम्रो कमाइ गरिरहेका छन् ।
पढाइ सकिएर पनि रोजगार नपाउनु भनेको चाहिं सीप नभएर हो । सीप नभएका युवाहरू चिन्तित छन् । सीप नहुनु परम्परागत शिक्षा प्रणाली हो । विद्यार्थीले कलेजबाट डिग्री लिएपछि सीप सिक्न अन्त जानुपर्ने स्थिति छ । ज्ञान र सीपलाई उत्तिकै महत्त्व दिने र राज्यले थप रोजगार सिर्जना गर्ने हो भने अवसर नेपालमै छ ।