काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानलाई अनुसन्धानमा केन्द्रित गरिने बताएका छन् । प्रतिष्ठानको ४१औँ प्राज्ञसभामा उनले अनुसन्धानमूलक उत्कृष्ट कृतिलाई प्रकाशन गरिने बताए ।
“सभाले परम्परा धान्नेभन्दा फरक विषयमा छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय गर्नुपर्छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै बजेटका विषय विस्तृत छलफल गर्नु आवश्यक छ । प्रतिष्ठानलाई नयाँ ढङ्गले निर्देशित गर्ने विषयमा सभामा विशेष रुपमा छलफल गरिन्छ”, कुलपति राईले भने ।
भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रतिष्ठानले विगतका कामको मूल्याङ्कन गरी योजना बनाउनुपर्नेमा जोड दिए । उनले आयोगले भोजपुरी भाषामा शब्दकोश र व्याकरण बनाउन लागेको भन्दै यसमा प्रतिष्ठानको सहयोग आवश्यक पर्ने बताए ।
वरिष्ठ आख्यानकार डा धु्रवचन्द्र गौतमले प्रतिष्ठानले कस्ता पुस्तक छाप्ने भन्ने प्रष्ट व्यवस्था नहुँदा समस्या भइरहेको भन्दै यसको समीक्षा गरेर प्रष्ट व्यवस्था गरिनुपर्नेमा जोड दिए। “कस्ता पुस्तक छाप्ने भन्ने प्रतिष्ठानले स्पष्ट मापदण्ड बनाउनुपर्ने पर्छ । सबै विधाका बौद्धिक पुस्तक प्रतिष्ठानले छाप्नुपर्ने प्रावधान भए सहज हुन्छ”, उनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरश श्रेष्ठले मुलुकका प्राज्ञको सभाले आगामी वर्ष गरिने कार्यक्रम छनोट गरी बजेट पारित गर्ने जानकारी दिए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुष्मा महराले प्रतिष्ठान सबैको हुनुपर्नेमा जोड दिनुभयो । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारालाई यथार्थ रुपमा कार्यान्वयन गरिनुपर्ने उनको भनाइ छ ।
प्रतिष्ठानका उपकुलपति विमल निभा र सदस्य सचिव डा धनप्रसाद सुवेदीलगायतले प्राज्ञसभाले गर्ने निर्णयका बारेमा जानकारी गराएका थिए ।