काठमाडौं । भारी वर्षापछिको बाढीपहिरो लगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरूपमा अवरुद्ध हुन पुगेको छ ।
सोमबार साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा बन्द छ ।
रोल्पाको सहिद राजमार्ग, रिडि–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेंसीशहर लगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । संखुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ ।
पहिरोका कारण अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्ण रूपमा अवरुद्ध रहेकोमा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले सोमबार साँझ विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोले अवरुद्ध सडक आज सशस्त्र प्रहरीले पुनः सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।