विराटनगर । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चमा सुधार भएको छ ।
गत आर्थिक वर्षमा ५० प्रतिशत पुँजीगत खर्च गरेकामा चालू आर्थिक वर्षमा थप १५ प्रतिशत सुधार गर्दै ६५ प्रतिशत खर्च गरिएको महानगरले जनाएको छ ।
चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ १ अर्ब ६७ करोड ५१ लाख विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख खर्च गरिएको महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिए । नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कारण पुँजीगत खर्च बढेको उनको भनाइ छ ।
‘सबैको साथ र सहयोगबाट पुँजीगत खर्च बढेको हो । आगामी आर्थिक वर्षमा यसमा अझै सुधार गर्ने दृढताका साथ हामीले काम गर्छाैं,’ महानगर प्रमुख कोइरालाले भने ।
चालूतर्फ १ अर्ब ६३ करोड विनियोजन गरिएकोमा १ अर्ब ३८ करोड ३७ हजार खर्च गरी ८४ दशमलव ५५ प्रतिशत प्रगति हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।
महानगरले वित्तीय व्यवस्थापनतर्फ ५ करोड विनियोजन गरेकोमा ४ करोड ७३ लाख खर्च गरेको छ । महानगरले चालू आर्थिक वर्षमा कूल ७५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । गत वर्ष ६४ प्रतिशत मात्र खर्च गरिएको थियो ।
महानगर लेखा शाखा प्रमुख सञ्जीव भट्टराईले ३ अर्ब ३६ करोड १७ लाख बजेट विनियोजन गरेकोमा २ अर्ब अर्ब ५२ करोड १ लाख खर्च गरिएको बताए । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको छ ।