कञ्चनपुर । विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो ।
अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ सिम्रन ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) र निकुञ्ज कार्यालयका प्रतिनिधि संलग्न रहेका निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चराको आहारविहार, सङ्ख्या, बासस्थानलगायतको अध्ययन गरिने उनले बताए ।
“सुनौलो तोप चराको गुँडको अवस्था, सिकारी चराले पुर्याउने हानी, भाले र पोथीको सङ्ख्या, कस्तो प्रकारको कुन प्रजातिको रुखमा गँुड लगाउनेबारे अनुगमनका क्रममा अध्ययन गर्नेछौँ”, ऐरले भने, “योसँगै चरालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अनुगमनका क्रममा देखिएका समस्या र अवस्थाका बारेमा सरोकार भएकाबीच छलफल गरी संरक्षण र व्यवस्थापनको योजना बनाउने छौँ ।”
नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइने सूचना अधिकारी ऐरले जानकारी दिए । निकुञ्जको घाँसे मैदानको बीच भागमा यस चराले गँुड लगाउने गर्दछ । झट्ट हेर्दा भगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उनले बताए।
“रुखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गँुड लगाउने गर्दछ । गँुड बनाएर यसले बच्च जन्माउने गर्दछ”, ऐरले भने, “तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो । “त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ । यसको सङ्ख्या वृद्धि गराउन निकुञ्जले प्रजनन क्षेत्रको विस्तार गर्ने काम गरिरहेको छ”, उनले भने ।