काठमाडौं । राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गर्न लागिएको हो ।
सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनःनिर्माण सुरु गर्ने गरी आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेकी छिन् । तीन वर्षमा रु ३४ करोड ७० लाखको लागतमा निर्माण गरिने सत्तलको शिलान्यास गर्दै उहाँले धार्मिक तथा ऐतिहासिक सम्पदा पुनःनिर्माण गर्न राजनीतिक रुपमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिइन्।
महानगरपालिका सांस्कृतिक, ऐतिहासिक, धार्मिक पक्ष जीवित राख्ने गरी यहाँका सम्पदा पुनःनिर्माणमा जुटेको उपप्रमुख डङ्गोलले बताइन् । वसन्तपुर दरबार क्षेत्रको आगम्छे घर पुनःनिर्माणका लागि पनि महानगरपालिकाले पहल गर्ने उनले योजना सुनाइन्।
राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले सिंहदरबार पुनःनिर्माण गराएपछि बाँकी रहेको निर्माण सामग्रीले सत्तल बनाएको भनिए पनि कति सालमा बनाइएको भन्ने प्रमाण कतै नभेटिएको गुठी संस्थानले जनाएको छ । करिब एक सय वर्षअघि बनेको भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको थियो । गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्पपछि टेकोकाभरमा अड्याइएको थियो ।
महानगरपालिका पर्यटन तथा संस्कृति समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष आशामान सँगतले महानगरको ठूला योजनामध्येमा पर्ने गरी भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गर्न लागिएको जानकारी दिए । सत्तल पुनःनिर्माण गर्न आवश्यक सामान व्यवस्थापनको काम गर्न पुरातत्व विभाग र गुठी संस्थानले गरिदिनुपर्नेमा उनले जोड दिए ।
महानगरपालिका–११ का वडध्यक्ष हीरालाल तण्डुकारले अहिले जस्तो छ, सत्तल त्यही स्वरुपमा पुनःनिर्माण हुने बताए । सम्पदा पुनःनिर्माणका क्रममा अवलोकन गरेर तत्कालीन समयमा जस्तो मिलेनमिलेको समयमै जानकारी गराउन उनले पुरातत्व विभागलाई आग्रह गरे ।