काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आंशका व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले संसद्भित्रका दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने भएको सहमति राष्ट्रिय सहमति नभएको जिकिर गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले अहिले संविधान परिमार्जन र संशोधनको आवश्यकता देखाएर सत्तास्वार्थका लागि सहमति गरिएको आरोप लगाए । “संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमतिपत्र आएपछि खुल्ला तर आजको दिनमा संविधान जोगाउन यो सहमति भएको कम्तीमा पनि म र मेरो पार्टी स्वीकार्न तयार छैन”, उनले भने, “हामीलाई आशङ्का छ । एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयो ?”
प्रधानमन्त्री प्रचण्डलाई आफ्नो दलले विश्वासको मत दिने बताउँदै उनले राजनीतिक इमान छाडेर नेकपा (एमाले) सरकार परिवर्तनमा लागेको आरोप लगाए । गृहमन्त्री लामिछानेले दुई ठूला दल एकठाउँमा आउँदा शक्ति पृथकीकरणमा सङ्कट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
उनले देशमा प्राकृतिक विपक्ति परेका बेला सरकार गिराउने काममा राजनीतिक दलको मुख्य कार्यभार हुनु अशोभनीय भएको धारणा राखे । उपप्रधानमन्त्री लामिछानेले सरकार परिवर्तनको माहोलबीच पनि रास्वपाका मन्त्रीहरू अन्तिमसम्म आफनो जिम्मेवारीमा डटेर लागिपरेको बताए ।
उनले सहकारी रकम दरुपयोग सम्बन्धमा छानबिन गर्न गठित समितिमा नयाँ बन्ने सत्तागठबन्धन दलको बहुमत पुग्ने भएकाले आफूलाई दोषी प्रमाणीत गर्नसक्ने आशङ्का व्यक्त गरे । “भ्रष्टाचारका फाइल खोल्न थालेको २४ घण्टामा सरकार परिवर्तन गर्ने काम भयो, अब त तपाईहरूको संसदीय समितिमा पनि बहुमत हुने भयो ।
मलाई ठग प्रमाणीत गर्न आपत पनि पर्दैन होला, गर्नुहोस् । यो देशमा कोही न कोही त जेल जानैपर्छ, सुरुआत मबाट गर्नुहोस । म तयार छु तर सत्यबाट विमुख हुनेवाला छैन”, उनले भने । सभापति लामिछानेले रास्वपाले प्रतिपक्षका रूपमा सुशासन र समुन्नतिका विषयमा नयाँ सरकारले चाल्ने कदममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।