काठमाडौं । सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्से हिमालबाट करिब ३४ हजार किलो फोहोर संकलन गरिएको छ । नेपाली सेनाको नेतृत्वमा कोकाकोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्यमा २८ मार्चमा सुरु भएको अभियान ५ जुनमा सकिने छ ।
नेपाली सेना र शेर्पा समर्थक गरी ९७ जनाको सदस्यता रहेको अभियान टिमले फोहोर संकलनको काम गरेको हो । ४५ दिनमा चार हिमालबाट ३४ हजार १६६ के.जी. फोहोर संकलन गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।
खाली अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्टहरु, खाना राखिने कन्टेनर, प्लास्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेटलगायतका फोहोर संकलन गर्दै टिमले यस वर्षको ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य सहित अभियानलाई निरन्तरता दिएको हो ।
हाल जारी अभियानका बारेमा बोल्दै सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दर कुमार पाण्डे हिमालको स्वच्छता जोगाउन अभियान चलाइएको बताए । पहिलो संस्करणदेखि कोका–कोलाले सफा हिमाल अभियानमा सहयोग गर्दै आएको छ । यो अभियान हाल चौथो शृङ्खलामा छ ।
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भई हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले गरिएको पहल हो । ३५ टन फोहोर संकलन गर्ने लक्ष्यमा पुगेपछि अभियानको सफलताको खुसीयालीमा काठमाडौंमा अन्तिम उत्सव मनाउनका लागि कार्यक्रम आयोजना गरिने भएको छ ।
जुन ५ तारिख अर्थात् विश्व वातावरण दिवसको अवसरमा भावी पुस्ताका लागि वातावरण संरक्षणमा सामूहिक पहलको महत्त्वलाई जोड दिँदै यो अभियान समापन गरिने छ ।