जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाले प्रत्येक वडामा एक वडा एक पोखरी निर्माण तथा सौन्दर्यीकरण गर्ने नीति सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाको १२औं नगर सभामा उपमहानगरपालिकाद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सडकमा पार्किङ व्यवस्था गर्ने, मैथिली भाषा साहित्य प्रवद्र्धनका लागि मिथिला सांस्कृतिक प्रतिष्ठान गठन गर्ने, एक वडा एक खेलको अवधारणाअनुसार खेलकुद पूर्वाधार निमार्ण गर्ने एवं प्रत्येक २ वर्षमा बृहत् खेलकुद महोत्सव आयोजना गरिने र प्रत्येक वर्ष शैक्षिक मेलाको आयोजना गरिने उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाकाले ३० लाखसम्मको करदाताको सम्पत्ति करमा ३४ प्रतिशत छुट दिने, आर्थिक वर्षको पहिलो त्रैमासिकभित्र सम्पत्तिकर बुझाउने पुरुषलाई ५ प्रतिशत तथा महिलालाई १० प्रतिशत छुट दिने तथा अनलाइनबाट कर तिर्ने प्रणाली स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सो नीति तथा कार्यक्रममा जनकपुरधामलाई सफा, स्वच्छ, सुन्दर तथा सुसंस्कृत बनाउने उद्देश्यसहित बृहत् सेनेटरी ल्यान्डफिल साइट स्थापना गरेर सञ्चालनमा ल्याइने र नगरभित्र विभिन्न स्थानका फोहोर संकलन केन्द्र राखिने बताइएको छ ।
लामखुट्टे नियन्त्रणका लागि विशेषज्ञहरूसँग सल्लाह गरेर अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सो नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको उपमहानगरपालिकाले जनाएको छ ।