काठमाडौं । कर्णाली प्रदेशसभाबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २६औँ बैठकबाट उक्त विधेयक पारित भएको हो ।
कर्णाली प्रदेशभरका सरकारी कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम एवं प्रशिक्षण प्रवर्द्धनमा सहयोग पुर्याउन सरकारले यो विधेयक ल्याएको हो ।
सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीलाई समग्रमा विधेयक पारितका लागि सभामा प्रस्ताव गर्न अनुमति दिएसँगै सभामा प्रस्ताव गरिएको उक्त विधेयक सर्वसम्मतिले पारित भयो । पारितपश्चात् सो विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ रुपान्तरण भएको सभामुख गुरुङले जनाए ।
त्यस्तै, प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का, सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति दुर्गबहादुर रावत र सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आर्थिक वर्ष २०७९/८० को समग्र विवरणसहितको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए ।
त्यसैगरी, आज बसेको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले कामको सिलसिलामा भारतको गढवालमा यही साउन ५ गते गुराँस गाउँपालिका–१ दैलेख छेप्की गाउँका एकैघरका तुलबहादुर र दलबहादुर ढेङ्गा मगर र छिमेकी पूर्णबहादुर तारामी विषालु च्याउ खाएर मृत्यु हुँदा घरपरिवारमा विचल्ली भएको बारे सरकारको ध्यानाकर्षण गरे । मृतकहरुको काजक्रिया र उनीहरूका बालबालिकाको आवश्यक व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न उनले आग्रह गरे ।
सोही समयमा प्रदेशसभा सदस्य देवेन्द्र शाहीले जुम्ला तथा कर्णाली लागुऔषधले आक्रान्त बनेको बताउँदै त्यसकै दुश्परिणामका कारण यही साउन ५ गते जुम्लामा सात घर र एक ट्र्याक्टर जलाउने काम भएको बताए । प्रतिबन्ध नभएको तर लागुऔषध प्रयोगकर्ताहरूले सजिलै प्रयोग गर्नसक्ने औषधि प्रतिबन्ध लगाउन आग्रह गर्दै उनले यसको रोकथाम प्रहरीमा सीमित नराखी प्रदेश सरकारले नयाँ रणनीति बनाउनुपर्नेमा जोड दिए ।