काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी घोषणा गरेका छन् । यही असार ३१ गते हुन लागेको २८ र २९ औँ वार्षिक साधारणसभा तथा अधिवेशनका लागि भविश्वर शर्मा समूहले उम्मेदवारी घोषणा गरेको आज पत्रकार सम्म्मेलन गरी जानकारी दिएका छन् ।
शर्माले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिन लागेका हुन् । अध्यक्ष शर्माले अघिल्लो कार्यकालका बाँकी काम सम्पन्न गर्नका लागि आफूले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेको जानकारी दिए । शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउन ठमेलको बहुआयामिक विकास र प्रभावकारी व्यवस्थापन गर्न सचेत र संकलप लिएको बताए ।
अब भने निर्वाचित भएर डिजीटल ठमेललाई पहिलो प्राथमिकतामा राखी ठमेल पर्यटन विकास परिषदको आफ्नो वेभसाइटमार्फत सम्पूर्ण व्यवसायी तथा घरधनीको लिस्टिङ गरि स्वदेशी तथा विदेशी पर्यटकले आफूलाई चाहिने जानकारी र लोकेशन सजिलै प्राप्त गर्न सक्ने र आवश्यक वस्तु तथा सेवाको खरीद तथा उपभोग गर्न मिल्ने गरि वेभसाइट निर्माण गरिने पनि जनाएकोछ । डिजिटल माध्यमबाटै परिषदका सदस्यहरुको गुनासो संकलन गरि समाधान लागि पहल गर्न पनि जनाइएको छ ।
ठमेलभित्र भएका सम्पदाहरुको खोज अनुसन्धान गरि पर्यटकको ठमेल बसाई थप लम्ब्याउन र ठमेलको संस्कृतिसँग पर्यटनलाई जोड्न सम्पदा सम्बन्धी पुस्तक प्रकाशन गर्ने, टुर रुट तयार गर्ने कार्य गरिने पनि जनाइएको छ । उनले ठमेलभित्र शान्ती सुरक्षा, ट्राफिक, फोहोर, तार तथा सडब बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल लगायत सम्पदा संरक्षण र प्रबद्र्धन गरिने समेत घोषणापत्रमा उल्लेख गरेका छन् ।
शर्मा समूहबाट प्रथम उपाध्यक्षमा सहदेव धमला, द्धितीय उपाध्यक्षमा राजीव पाण्डे, तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी,महासचिवमा बद्री तिमल्सिना, सचिवमा पुण्य राम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलियाले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पुर्ण प्रसाद चौलागाई, विनोद श्रेष्ठ, अर्मत थोकर, सानुकाजी महर्जन र रमेश विश्वकर्माले पनि शर्मा नेतृत्वको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वि.स. २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल दुई हजारभन्दा बढी व्यवसायी तथा घरधनी आवद्ध छन् ।