काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै उनले आगामी पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरूको सहभागिता व्यवस्थित गर्ने उल्लेख गरे ।
उनले भने, ‘पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागितालाई व्यवस्थित गर्न निर्देशन दिन्छु ।’ आगामी मंसिरमा कर्णालीमा हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न निर्देशन दिए । उनले युवा स्वरोजगारलाई व्यवस्थापन गर्न नेपाली युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गरेर नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री चौधरीले वर्षाका कारण देशभर भएका विपद्का घटनामा नेपाल स्काउटका स्वयंसेवक तथा खेलाडीलाई परिचालित भएर तत्काल राहत तथा उद्धारमा खटिन निर्देशन दिए ।
उनले खेल संघमा देखिएको विवादलाई टुंग्याएर खेल क्षेत्रमा सकारात्मक सन्देशका लागि पहल गर्ने प्रतिबद्धता जनाए । ‘विभिन्न खेल संघमा देखिएका विवादलाई समयमै टुंग्याएर खेल क्षेत्र एकजुट छ भन्ने सन्देश दिन जरूरी छ,’ उनले भने, ‘त्यसको पहल गर्न राष्ट्रिय खेलकुद परिषद्लाई विशेष निर्देशन दिन्छु ।’
राष्ट्रिय खेलकुद परिषद्मा प्राविधिक जनशक्तिको अभाव भएको विषयमा आफू जानकार रहेका कारण यसमा पनि आफ्नो विशेष पहल रहने उनको भनाइ थियो ।
बुवा सतौन चौधरी र आमा नैनवत्ति चौधरीको कोखबाट विक्रम संवत् २०१९ असोज १४ गते सप्तरीको खडक नगरपालिका–८ स्थित महिया टोलमा जन्मिएका मन्त्री चौधरी २०७९ सालमा सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद छन् । विक्रम संवत् २०७३ सालमा उनी खेलकुद राज्यमन्त्री भएका थिए । मन्त्री चौधरी भलिबलका खेलाडी समेत हुन् ।
विक्रम संवत् २०३६ सालदेखि नेविसंघमा आबद्ध उनी २०४६ सालमा महासमिति सदस्य भए । उनी २०५२ सालबाट राजनीतिक दलमा आबद्ध भएका थिए । चौधरी विक्रम संवत् २०७० सालको दोस्रो संविधानसभा सदस्य तथा २०७४ सालमा प्रतिनिधिसभा सदस्य भएका थिए ।