बेनी (म्याग्दी) । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ ।
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुँच पुगेको हो ।
प्रदेश सरकारबाट प्राप्त ३४ र सङ्घीय सरकारबाट प्राप्त आठ वटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्याङ्की निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशङ्कर शाहले जानकारी दिए।
उनका अनुसार गत आवमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ ।घोडेपानी खानेपानी, तोरी पानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ ।
कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८ इन्टेक, १६ सङ्कलन चेम्बर, ११ वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४ पानी सङ्कलन ट्याङ्की निर्माण भएको छ ।
एक वर्षमा कुल २७ दशमलव ६७ प्रतिशत किलोमिटर मुख्य पाइप लाइन र ४९ दशमलव ७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए ।