काठमाडौं । सर्वोच्च अदालतले कोसी सरकारविरुद्ध परेका रिट निवेदनको सुनुवाइका लागि तीन सदस्यीय पूर्ण इजलास गठन गरेको छ । पूर्ण इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ छन् ।
सोमबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । सोही आदेशबमोजिम रिट सुनुवाइका लागि सर्वोच्चले तीन सदस्यीय इजलास गठन गरेको हो । इजलासले आजदेखि निवेदनमा सुनुवाइ थाल्नेछ ।
यसअघि न्यायाधीश सपना मल्ल प्रधानको इजलासले कोसी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो । एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीसहितले परमादेशको माग गर्दै रिट दिएका थिए ।
असार २७ गते रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले साउन ३ गतेभित्र महान्यायाधिवक्तारमुख्य महान्यायाधिवक्ताको कार्यालय प्रदेशमार्फत लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश दिएको थियो । सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रदेश सरकारका नाममा आदेश दिएको थियो । रिटमाथिको सुनुवाइका लागि साउन ७ गतेलाई पेसी तोकिएको थियो । तर आइतबार सुनुवाइ हुन सकेन ।
नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री कार्कीका तर्फबाट दायर रिटउपर सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा र सभामुख बाबुराम गौतमलाई सरकार गठनका बेला भएको दाबी र समर्थनको सक्कल कागजातसहित लिखित जवाफ पठाउन आदेश दिएको थियो । आदेश अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले सक्कल कागजातसहित लिखित जवाफ पठाइसकेका छन् ।
उनीहरूले प्रदेश सरकार संविधान र कानुन अनुसार नै गठन भएको भन्दै मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा जवाफ पठाइएको छ । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यस विरुद्ध एमालेले सर्वोच्चमा रिट दिएको हो। रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा,सभामुख गौतमलाई प्रतिवादी बनाइएको छ ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका २९,नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ जना प्रदेशसभा सदस्य तथा सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।