काठमाडौं । मूलधारको पत्रकारितामा पृथक पहिचानका साथ प्रशासन भित्र सुशासन कायम गर्न पैरवी गर्ने उद्देश्यसहित स्थापित प्रतिबद्धता मिडिया प्रा.लि.द्धारा सञ्चालन भएको व्यवस्था डट् कमले आज देखि १ वर्ष पूरा गरेको छ । प्रशासन, कर्मचारी, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई केन्द्रित गरेर हामीले समाचार पस्किँदै आएका छौं । सँगसँगै दैनिक घटनाक्रम र समसामयिक विषयलाई पनि व्यवस्थाले समेट्दै आएको छ ।
स्थापनाकालका संघर्ष र सिकाइलाई सँगाल्दै व्यवस्था डट् कम निरन्तर अगाडि बढेको छ । अनलाइन पत्रकारिताको जग बसाल्न यो १ वर्ष कोशेढुंगा सावित भएको छ । सार्वजनिक सेवा प्रवाह हुने निकाय र विषयमा सुव्यवस्थित व्यवस्थापन नहुँदा भद्रगोलको अवस्था सिर्जना हुन्छ, त्यसैले व्यवस्थापनलाई व्यवस्थित गर्ने पैरवी र खबरदारीलाई व्यवस्था डट्कमले मूल ध्येय बनाएर अगाडि बढेको छ ।
यो १ वर्षलाई हामीले सिकाइको वर्षको रूपमा लिएका छौं । विगतको सिकाइ, भोगाइ र अनुभवबाट शिक्षा लिँदै आगामी लक्ष्य तय गरी हामी अगाडि बढ्दैछौं । सेवाग्राहीको सन्तुष्टि सँगसँगै कर्मचारी जनशक्तिको सुविधा र अधिकार पनि हाम्रो समाचार सामग्रीको विषय बन्ने गरेको छ । प्रशासनभित्रका सुधार, सहभागिता, समावेशिता र स्वच्छतामाथि पनि व्यवस्था डट्कमले बहस गर्दै आएको छ ।
पत्रकारिताको मूल मर्म नै लुकेका विषयवस्तुको उजागर गर्नु र सार्थक निष्कर्षमा पु¥याउनु हो । यस्तै आवश्यकता अनुरूप प्रशासन सुधारका विषयमा व्यवस्था डट्कमले विषयवस्तुको उठान गर्दै आएको छ । संघीयताको कार्यान्वयनका क्रममा कानून र नियमको द्विविधाका कारण कर्मचारी संयन्त्रभित्र अन्योलको स्थिति छ । तीनै तहलाई समेट्ने गरी कानूनी एकरूपता कायम हुन सकेको छैन । अन्योलका बिच सार्वजनिक सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउनुपर्ने अवस्था छ । यसतर्फ राजनीतिक नेतृत्वले पनि सजग हुनुपर्ने अवस्था छ ।
राजनीतिक अस्थिरताको असर समग्र कर्मचारी प्रशासन र व्यवस्थामा पर्दै आएको छ । सरकार फेरिएसँगै नीति, कार्यक्रम र प्राथमिकतामा विविधता देखिँदा प्रशासनिक नेतृत्व फेरिएका प्राथमिकतामा अभ्यस्त हुन समय लाग्ने अवस्था छ । एकखाले कार्यक्रम कार्यान्वयनकै चरणमा रहँदा सरकार फेरिएर अर्कै प्राथमिकता अघि सर्दा कर्मचारी संयन्त्रमा स्वाभाविक अलमल रहन्छ । राजनीतिक नेतृत्वले राजनीतिक स्थिरतातर्फ सचेत हुनुपर्छ । अस्थिरताले योजना विनियोजन र कार्यान्वयनमा अन्योल उत्पन्न हुँदा उपलब्धि घट्न सक्छ ।
व्यवस्था डट्कमको १ वर्ष सुखद रह्यो । हाम्रो पत्रकारिता यात्रा अनलाइन प्रविधिलाई भरपुर उपयोग गर्दै अगाडि बढेको छ । बदलिँदो युगअनुसार हामीले अनलाइन माध्यममा पाठकको अगाध माया, स्नेह र साथ पाइरहेका छौं । भविष्यमा पनि पाठकहरूबाट समर्थन प्राप्त भइरहने आशा गर्दछौं ।
हाम्रो अनलाइन पत्रकारितालाई अगाडि बढाउन सहयोग पु¥याउने सूचानादाता, पाठक, विज्ञापनदाता, पत्रकार, कर्मचारी सबैप्रति व्यवस्था डट्कम आभार प्रकट गर्दछ । भविष्यमा हाम्रो यात्रालाई अझ सहज र व्यवस्थित बनाउन सबै क्षेत्रबाट निरन्तर सहयोग प्राप्त हुने आशा गर्दछौं । हामी सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र व्यवस्थित बनाउने विषयवस्तुलाई सदैव प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौं ।
धन्यबाद ।।