कञ्चनपुर । वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षरोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ । समन्वय समितिमा आवद्ध सात सामुदायिक वनको बाँझो जग्गामा वृक्षरोपण गरी हराभरा बनाउनका लागि कार्यक्रम सञ्चालन गरेको हो ।
यही साउन १ गतेदेखि सञ्चालन भएको कार्यक्रम ७ गते सम्म जारी रहने छ । वृक्षरोपण कार्यक्रममा सामुदायिक वनका उपभोक्ता, वन संरक्षणकर्मी, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी लगायको संलग्नता रहने समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताए। उनका अनुसार अभियानका क्रममा जडीबुटी, काष्ठ र गैरकाष्ठ प्रजातीका ३५ हजार बिरुवा रोप्ने लक्ष्य लिइएको छ । कार्यक्रम अन्तर्गत साउन १ गते कञ्चन सामुदायिक वनमा गाउँपालिका अध्यक्ष निर्मल राना लगायतको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको छ ।
साउन २ गते कृष्णपुर नगरपालिकाको उग्रतारा सामुदायिक वन, ३ गते झिलमिला सामुदायिक वन, ४ गते शुक्लाफाँटा नगरपालिकाको भगवती सामुदायिक वन, पाँच गते कृष्णपुरका वीरेन्द्र र दिपेन्द्र स्मृति सामुदायिक वन,६ गते ग्वासी समैजी सामुदायिक वन र सात गते जनहित महाकाली सामुदायिक वनमा वृक्षरोपण गरी कार्यक्रमको समापन गरिने छ ।
वन क्षेत्रलाई हराभरा बनाइ जैविक विविधता संरक्षणमा टेवा पु¥याउनका लागि प्रत्येक वर्ष वृक्षरोपण सप्ताह कार्यक्रम आयोजना गर्दै आएका छौंँ अध्यक्ष जोशीले भने, यसबाट जलवायु परिवर्तका असर न्यूनीकरण गर्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ । नदी तटीय क्षेत्रमा गरिएको वृक्षरोपण कार्यक्रमले भूक्षय भइरहेको जग्गा संरक्षण भएको, पानीका सुक्दै गएका मुहान संरक्षण भएको उनको भनाइ छ ।
निरन्तरको वृक्षरोपण कार्यक्रमले सामुदायिक वनका बाँझो जग्गा हराभरा भएका छन्, समन्वय समितिका संयोजक शिवराज पन्तले भने,वन क्षेत्रमा देखिन छाडेका बाघ, हात्ती लगायतका जनावर र चराचुरुङ्गी पुनः सामुदायिक वनमा फर्केका छन्, पहिले प्रशस्त रुपमा पाइने हराउँदै गएको विजयसाल पुनः उत्पादनमा टेवा पुगेको छ ।