दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएसँगै गृहजिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा राखेका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का शंकर पन्तले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा रहेका समस्या समाधान गरी स्वास्थ्य क्षेत्रको सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि मन्त्री पौडेलले नेतृत्व प्रदान गर्ने अपेक्षा राखेको बताए ।
‘गरीबीको रेखामुनि रहेका जनताको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुने गरी कार्यसम्पादन गर्नेमा हामी विश्वस्त छौं । उनले गर्ने कामसँग गृहजिल्लाको प्रतिष्ठा जोडिएकाले राम्रो काम गर्न नागरिक तहबाट झक्झक्याइ रहने छौं,’ उनले भने ।
पन्तले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा संघीय सरकारको मातहत रहेको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रजस्ता अस्पताल व्यवस्थित गर्न मन्त्री पौडलेबाट महत्त्वपूर्ण भूमिका अपेक्षा गरिएको सुनाए ।
तनहुँको भिमाद नगरपालिका–५ निवासी मिलन आले स्वास्थ्य क्षेत्रको जटिलता र बेथिति हटाउँदै नागरिकको हितमा काम गर्न उनको ध्यान केन्द्रित हुनुुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अवसर सधैं आउँदैन, उहाँले देशको स्वास्थ्य क्षेत्र सुधार्ने जिम्मेवारी पाउनुभएको छ, यो हामी जिल्लावासीका लागि खुशीको कुरो हो । अब उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि उत्कृष्ट काम गर्नुहुनेछ भन्ने आशा गरेका छौं ।’
म्याग्दे गाउँपालिका–४ मनहरीका गौरवराज रानाले जन्मथलोको उत्तरदायित्व, निर्वाचन क्षेत्रको कर्तव्यलाई सधैं उच्च स्थानमा राखेर संवेदशील जिम्मेवारी कुशलतापूर्व बहन गर्न आग्रह गरे । उनले गृहजिल्लाका अस्पतालको स्तरोन्नति गरी पछिसम्म पनि नागरिकले सम्झिने गरी काम गर्न मन्त्री पौडेललाई सुझाव दिए ।
शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका कृष्णप्रसाद रेग्मीले प्राप्त अवसरको सदुपयोग गर्न र कार्यकाल सफल बनाउन स्वास्थ्यमन्त्री पौडेल खरो रूपमा उत्रिनुपर्ने बताए । उनले भने, ‘हामीले उहाँलाई नजिकबाट चिनेका छौं, अनवरत संघर्ष, संगठनप्रतिको लगाव र जुझारुपन उहाँ विशेषता हुन् । अब त्यही लगाव, ऊर्जा र जुझारुपन देशको स्वास्थ्य क्षेत्रमा सुधारमा प्रयोग गर्नुपर्छ ।’
स्वास्थ्य मन्त्री पौडेलको जन्म विक्रम संवत् २०३१ चैत १४ गते बुवा डिल्लीरमण पौडेल र आमा दुर्गादेवीको कोखबाट भएको थियो । नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै विक्रम संवत् २०४६ सालको जनआन्दोलनमा सक्रिय उनी विक्रम संवत् २०५३ सालमा अमृत साइन्स क्याम्पसको स्ववियु सभापति समेत निर्वाचित भएका थिए ।
लामो समय शैक्षिक परिवर्तनको पक्षमा रही विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै उनी विक्रम संवत् २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति भए । समाजशास्त्रमा स्नातकोत्तर पौडेल हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत छन् । उनी २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन् ।