गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।
भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टार र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।
गत वर्ष रु. ३५ लाखको लागतमा निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
“सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, दर्बुङ्ग, फुजेल, क्यामुन्टार, पिपलटार, घाटबेसी, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाध्यक्ष श्रेष्ठले भने, “सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न समेत असहज भएको छ ।” त्यस क्षेत्रमा स्थानीय हिडेरै सदरमुकाम जानुपर्ने बाध्यता छ ।
बाढीले क्षति पुर्याएको पुलको निरिक्षणका लागि इन्जिनियर लगिएको र कल्भर्टको दायाँबायाँ ग्याबीन भर्नका लागि जालीको बन्दोबस्त गर्नेकाम भैरहेको अध्यक्ष श्रेष्ठले बताए ।