काठमाडौं । हिमाली जिल्ला जुम्लाको चन्दननाथ नगरपालिकाका १३ जना स्वास्थ्यकर्मीले ११ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् ।
१३ जना स्वास्थ्यकर्मीमध्ये दुईजनाले दुई महिनाको तलबभत्ता पाएका छन् भने अरू ११ जनाले ११ महिनाको तबलभत्ता नपाउँदा समस्यामा परेको सिनियर अनमी मेनका देवकोटाले बताइन् ।
समायोजनबाट नगरपालिकामा सुरुवा भइ आएका १३ जना स्वास्थ्यकर्मीले गएको साउन महिनादेखि तलब नपाएको उनको भनाइ छ ।
हिमाबाट २ जना, कनकासुन्दरीबाट ३ जना, तिलाबाट १ जना, सल्यान जिल्लाबाट १ जना, मुगुबाट १ जना र अन्य सात जना नगरपालिका भित्रैका स्वास्थ्यकर्मीले झण्डै वर्ष दिन हुन लागिसक्दा पनि तलबभत्ता नपाएको देवकोटाले गुनासो गरिन् ।
साउन महिनादेखि तलब नपाउँदा कर्मचारी समस्या परेको उनले बताइन् ।
ऋण निकालेर खर्च चलाउनु पर्ने अवस्था सिर्जना भएको देवकोटाको भनाइ छ ।
'एघार महिनासम्म तलब नपाउँदा खर्च कसरी धानेका हौँला ?', देवकोटाले भनिन्, 'कसरी काम गर्ने ? हाम्रो घरव्यवहार चलाउनु पर्दैन ?'
धेरै पटक हारगुहार्दा पनि तलब नपाएको उनको भनाइ छ । देवकोटाका अनुसार मासिक खर्चका लागि घरबाटै रकम माग्नु पर्ने बाध्यता छ ।
उनले भनिन्, 'आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छौँ ।'
स्वास्थ्यकर्मीले एघार महिनादेखि तलब पाउन नसकेकामा चिन्ता व्यक्त गर्दै देवकोटाले चाँडोभन्दा चाडो तलबभत्ताको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरेकी छन् ।
तलबभत्ता नपाउँदा एघार जना स्वास्थ्यकर्मी फाजिल हुनु परेको देवकोटाले बताइन् ।
उनले भनिन्, 'हाजिर गरेका छौँ, तर तलब पाएका छैनौँ । काम गर्दा पनि तलब नपाउनु दुःख लाग्दो अवस्था छ ।'
देवकोटाले नगरपालिकामा बुझ्दा मन्त्रालयबाट तलब नआएको जवाफ पाएकाे बताइन् ।
११ जना सिनियर अनमी, एक जना एचए र एकजना अहेब अहिले फाजिल अवस्थामा छन् ।
यता चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत सीताराम खड्काले जुम्लाको चन्दननाथ नगरपालिकाको मात्रै नभएर नेपालका १६० वटा स्थानीय तहको समस्या भएको बताए ।
'जुम्लाको चन्दननाथ नगरपालिकाको मात्रै समस्या होइन, सबै ठाउँको समस्या यस्तै हो', उनले भने ।
अधिकृत खड्काका अनुसार यो समस्या स्वास्थ्यकर्मी आफैंले सृजना गरेका हुन् ।
जनप्रतिनिधिले आफ्ना मान्छेलाई भटाभट सहमति दिने गरेकाले दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नगरपालिकामा भएकाले तलबभत्ता दिन नसकिएको उनको भनाइ छ ।
दरबन्दीभन्दा बढी समायोजन भएर आएका हुनाले स्वास्थ्यकर्मी फाजिल भएको खड्काले बताए ।
स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसारको तलबभत्ता नपठाउँदा सबैलाई तलब दिन नसकिएको उनले स्वीकार गरे ।
१३ जनामध्ये दुई जना स्वास्थ्यकर्मीले दुई महिनाको तलब र दशैँ खर्च पाएको उनको भनाइ छ ।
उक्त रकम कसरी आयो यसबारेमा आफूलाई थाहा नभएकाे अधिकृत खड्का बताउँछन् ।
अर्थमन्त्रालयले रकम पठाएमा स्वास्थ्यकर्मीलाई तलबभत्ता दिन समस्या नहुने उनले बताए ।
तलब आउने भएकाले नआत्तिन उनले अनुरोध गरेका छन् ।