जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोग लामो समयदेखि पदाधिकारीविहीन भएको छ ।
आयोगमा पदाधिकारी नहुँदा उद्देश्य तथा लक्ष्य अनुरूप काम गर्न नसकेको र कर्मचारी भर्ना एवं नियुक्ति लगायत काम ठप्प भएको छ । मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्य पद रिक्त रहेकाले सबै कार्य ठप्प भएको कर्मचारीहरूको भनाइ छ ।
आयोगमा ३ सदस्यीय पदाधिकारी प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था छ । त्यसमध्ये १ जना सदस्य डा. सुजाता देव मात्र कार्यरत छन् । आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा सदस्य महारुद्र झा उमेर हदका कारण ६ महिना अगाडि पदमुक्त भएपछि आयोग पदाधिकारीविहीन भएको हो ।
आयोगमा पदाधिकारी मात्र होइन, विक्रम संवत् २०८० मंसिर २१ गतेबाट सचिव पद पनि रिक्त छ । तत्कालीन सचिव नरेशराज खरेलको अन्यत्र सरुवा भएपछि नयाँ सचिव नआएको आयोग कार्यालयले जनाएको छ ।
पदाधिकारी र सचिव नहुँदा साउन १ गते आयोगले सार्वजनिक गर्ने कर्मचारी भर्ना सम्बन्धी वार्षिक क्यालेण्डर प्रकाशन गर्न सकेको छैन ।
अध्यक्ष, सदस्य तथा सचिव नहँुदा नियमित प्रशासनिक कामबाहेक अन्य काम ठप्प भएको आयोगका प्रवक्ता तथा उपसचिव गणेश गुञ्जन झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार अन्तर्वार्ता लिइएको उम्मेदवारको नतिजा सार्वजनिक, सिफारिस, विज्ञापन गरिएका लिखित परीक्षा, सम्बन्धित निकायसँग रिक्त रहेको दरबन्दी माग तथा विज्ञापन निकाल्ने लगायत काम अघि बढ्न सकेको छैन ।
आयोगकी एक मात्र सदस्य डा. देवका अनुसार २ जना पदाधिकारी भएमा मात्र निर्णय गर्न सक्ने कानूनी व्यवस्थाअनुसार आफू एक्लैले केही गर्न नसक्ने बताए । मधेश प्रदेश सरकारलाई आयोगमा पदाधिकारी नियुक्तिका लागि पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा कुनै सुनवाइ नभएको उनले बताए ।
लोक सेवा आयोग स्थापनाको ५ वर्षमा हालसम्म विभिन्न १ हजार २२ पदको विज्ञापन आयोगले गरेको छ । जसमा कर्मचारी बढुवातर्फ ३७६ जना सिफारिस भएका छन् । खुलातर्फ ६४६ जना कर्मचारी माग गरिएकोमा सबै प्रक्रिया पूरा गरेर छनोट भएका १८५ मात्र सिफारिस गर्न सकेको आयोगले जनाएको छ ।
प्रवक्ता झाका अनुसार आव २०७९/८० मा खुला विज्ञापनमार्फत बढुवा र खुला गरी उपसचिव नवौंदेखि सहायक चौथो तहमा २०० कर्मचारी पदपूर्ति गर्नुपर्ने आयोगको लक्ष्य रहेको थियो । आव २०८०/८१ मा ११७ कर्मचारी भर्ना गर्नुपर्ने भए पनि आयोगले पदपूर्ति गर्न सकेको छैन । आव २०७९/८० मा नवौं तह उपसचिवमा बढुवाका लागि गरेको ११ पदका विज्ञापनमा प्रक्रिया पुर्याएर ३ जना सिफारिस भइसकेका छन् भने ८ जनाको सिफारिस बाँकी छ ।
तत्कालीन मुख्यमन्त्री लालबावु राउतको कार्यकालमा प्रदेश लोक सेवा आयोग २०७६ भदौ ४ गते गठन भएको थियो ।