काठमाडौं । श्रीलंकामा आजबाट एसिया कप महिला टी–२० क्रिकेट सुरु हुँदैछ । पहिलो दिन नै नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ ।
श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले यूएईको सामना गर्नेछ । खेल शुक्रबार दिउँसो सवा २ बजे सुरु हुने तालिका छ ।
नेपालले ८ वर्षपछि एसिया कप महिला टी–२० खेल्न लागेको छ । २८ जुलाईसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । ८ टीमलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र यूएई छन् । समूह ‘बी’मा थाइल्यान्ड, मलेसिया, श्रीलंका र बंगलादेश छन् ।
एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका २ संस्करण खेलिसकेको नेपाल अहिलेसम्म जीतविहीन छ । सन् २०१२ र २०१६ मा भएको एसिया कपमा नेपालले सहभागिता जनाएको थियो ।
सन् २०१२ मा चीनमा भएको एसिया कपमा नेपाल श्रीलंका, बंगलादेश र आयोजक चीनसँग पराजित भएको थियो । सन् २०१६ मा पनि नेपालले जीत निकाल्न सकेन । थाइल्याण्डमा भएको प्रतियोगितामा नेपाल ५ वटै खेलमा पराजित हुँदै घर फर्कियो ।
सन् २०१६ मा नेपाल पाकिस्तानसँग ४७ र भारतसँग २१ रनमा अलआउट भएको थियो । तेस्रोपटक सहभागी हुन लागेको नेपालका ३ खेलाडीसँग एसिया कप खेलेको अनुभव छ । कप्तान इन्दु बर्मा, पूर्व कप्तान रुविना क्षेत्री र सीता रानामगरले यसअघिका २ संस्करणको एसिया कप खेलेका छन् ।