खोटाङ । यस वर्ष खोटाङमा १६८ मेट्रिक टन लिची उत्पादन भएको छ । गत वर्ष १५३ मेट्रिक टन लिची उत्पादन भएको थियो ।
१० स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेंसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा २ मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिची उत्पादन भएको छ । जन्तेढुंगा गाउँपालिकामा ९ मेट्रिक टन, बाराहापोखरीमा ० दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा ६ मेट्रिक टन, केपिलासगढीमा ० दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा १ मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा उत्पादित लिचीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेंसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय वासिन्दा एवं उद्यमी रामबहादुर राईले बताए । ‘जिल्लामा उत्पादित लिची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ,’ उनले भने, ‘यसप्रति ३ वटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।’
जिल्लामा उत्पादित लिची स्थानीय हाटबजार तथा राजधानी काठमाडौं लगायत शहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिची बिक्रीबाट किसानले वार्षिक करोडौं आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । लिचीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र संघीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ ।
लिची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिचीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिचीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् ।