दार्चुला । गत आर्थिक वर्षमा दार्चुलाबाट ६७४ किलोग्राम यार्सागुम्बा निकासी भएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्रसिंह नगारीले यार्सागुम्बा संकलन तथा ओसारपसार निर्देशिकाअनुसार कार्यालयले गत वर्ष आठ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकोमा व्यापारीले छोडपुर्जी बनाएर ६७४ किलोग्राम यार्सा काठमाडौं निकासी गरेको बताए ।
यसबापत संरक्षण क्षेत्रले प्रतिकिलो ३१ हजारका दरले राजस्व लिने गरेको र उक्त अवधिमा २ करोड ८९ लाख ४ हजार राजस्व संकलन गरिएको उनले जानकारी दिए ।
कार्यालयका वार्डेन विनयकुमार झाले पछिल्लो समय उत्पादन घटेका कारण तोकिएको लक्ष्यअनुसार यार्सागुम्बा संकलन गर्न नसकिएको बताए । उनले संकलकहरूले विगत केही वर्षयता हिमाली क्षेत्रमा यार्सागुम्बा कम पाइन थालेको बताउने गरेको जानकारी दिए ।
‘बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बाको उत्पादन घट्नाका कारण पत्ता लगाउन जरुरी भइसकेको छ । अब यार्सा पाइने क्षेत्रहरूको अध्ययन–अनुसन्धान गर्ने योजनामा छौं,’ उनले भने ।
दार्चुलामा विशेषगरी अपी हिमाल, ब्याँस, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत यार्सागुम्बा र जडीबुटी हो । यहाँका लोलु, अपी फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङ लगायत पाटनमा यार्सागुम्बा पाइने गर्छ ।
व्यापारी हरिश भट्टले पनि पछिल्ला वर्षमा यार्सा पाउने क्रम घट्दै गएको बताए । पछिल्लो समय यार्साको मूल्य समेत घटेको उनको भनाइ छ । ‘यहाँ संकलकहरूसँग किन्नुपर्दा महंगोमा किन्नुपरेको छ । हामीले प्रतिकिलोग्राम १७–१८ लाख खरिद गरेर काठमाडौंमा १४–१५ लाख प्रतिकिलोग्राममा बेच्नुपर्ने माध्यता छ । यसले व्यापार गर्न निकै गाह्रो भइसक्यो,’ उनले भने । व्यापारीहरूले ‘ग्रेड’का आधारमा यार्सा खरिदबिक्री गर्ने गरेका छन् ।