झापा । बंगलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् ।
आईतबार मात्रै २०० भन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।
‘पछिल्लो २ दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो,’ अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, ‘विद्यार्थीहरू बिहानैदेखि आइरहेका छन् ।’ उनीहरूलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए ।
बंगलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत ७ दिनदेखि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम सुरु भएको हो । ७ दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको संख्या ७०० भन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए ।
आईतबार दिउँसो काँकडभिट्टा आइपुगेकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका ४०० भन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताइन् ।
इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बंगलादेश सरकारले सुरक्षा दिएको थियो । ‘कलेजका प्राध्यापक र कर्मचारीहरू पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनुभयो,’ उनले भनिन्, ‘कफ्र्यु लागेको अवस्थामा बंगलादेशबाट भारत प्रवेश गर्न सफल भयौं ।’
आईतबार मात्रै ९ वटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिइन् । केही विद्यार्थी भुटानबाट समेत आएका थिए ।
रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आईतबार सबै विद्यार्थी भोकै रहेको बताइन् । काठमाडौं निवासी उनले भनिन्, ‘१ हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौैं । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।’
उत्तरी बंगलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरू नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । काँकडभिट्टा आइपुग्ने बित्तिकै उनीहरूले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफू सकुशल रहेको खबर गरेका थिए ।
सुर्खेत घर भएका रेणुका गुरुङले बंगलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाइन् । नयाँ विद्यार्थीहरूलाई सम्झाउन गाह्रो भएको उनको भनाइ थियो ।
उनले भनिन्, ‘आज बिहान ४ बजे कलेजबाट हिँडेका थियौं । शिक्षकहरूले हामीलाई भारतको सीमासम्म ल्याउन सहयोग पुर्याउनुभयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।’
बंगलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय सीमानाका फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताइन् । विद्यार्थीहरूले बंगलादेशको बङ्गलाबन्ध, भारतको फूलबारी र पानीट्यांकी नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् ।
पानीट्यांकी नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरू सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरू झापा, इलाम लगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् ।
काठमाडौं र त्योभन्दा पश्चिमका विद्यार्थीहरू भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन् । कतिपय अभिभावकहरू छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन् । बंगलादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत प्रतिभा नायकलाई लिन उनका आमाबुवा अध्यागमन परिसरमै घण्टौं कुर्नु भएको थियो ।