काठमाडौं । लोकसेवा आयोगको तयारी कक्षा पढाउने ६० भन्दा बढी निजामती कर्मचारीहरूसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण मागेको छ । मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनका आधारमा पत्र काटेर विवरण मागेको हो ।
अख्तियारमा कर्मचारीहरू कार्यालय समयमा पढाउन गएको र त्यसले सेवा प्रवाहमा असर परेको उजुरी परेको थियो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार उजुरीका आधारमा ‘यथार्थ छानबिन गर्नू’ भनी मन्त्रालयमा पत्र पठाइएको हो ।
राजधानीका विभिन्न संस्थाहरूमा पढाउने ५० जनाभन्दा बढी कर्मचारीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र काटेर सोधेको हो । अख्तियारले पठाएको सूचीमा संवैधानिक निकायका बहालवाला पदाधिकारीहरू, सचिव, सहसचिव लगायतका कर्मचारी रहेको जनाइएको छ ।
सम्बन्धित व्यक्तिहरूलाई अख्तियारको पत्रका आधारमा चिठी पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले जनाएका छन् ।
अख्तियारले पत्र काटेपनि प्रचलित कानुनले भने विभागीय अनुमति लिएर निजामती कर्मचारीहरूलाई शैक्षिक र प्राज्ञिक काम गर्न निषेध गरेको छैन । निजामती सेवा ऐनको दफा ४९(क) मा भनिएको छ, ‘अख्तियारवालाको पूर्व स्वीकृति लिई कार्यालयबाहेकको समयमा शैक्षिक, प्राज्ञिक वा प्रशिक्षण संस्थामा प्रशिक्षण वा अनुसन्धान गर्न (बाधा पुगेको मानिने छैन) ।’
काठमाडौंमा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन हजारौँ विद्यार्थीहरू तयारी कक्षा लिने गर्छन् ।
निजामती कर्मचारीहरूले आफूखुसी यस्ता तयारी कक्षामा पढाउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही समयअघि अनुमति लिएर यस्ता काममा संलग्न हुन सूचित गरेको थियो । मन्त्रालयले त्यसरी पढाउन समेत अनुमति दिन छोडेको कर्मचारीहरू बताउँछन् ।