काठमाडौं । बहालवाला दुई मन्त्री, सांसदहरू, पूर्व सभामुख, पूर्व मन्त्रीहरू सहितका उम्मेदवारलाई निर्वाचन आयोगले जनही १५ हजार जरिवाना गर्ने भएको छ।
प्रतिनिधि सभातर्फ एक हजार ३७ जना र प्रदेश सभातर्फ एक हजार ३९८ जना उम्मेदवारलाई खर्च विवरण सार्वजनिक नगरेको बताउँदै जरिवाना लिने निर्णय गरिएको हो ।
गत वर्षसम्म सम्पन्न निर्वाचनमा खर्च विवरण सार्वजनिक नगरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, खानेपानी मन्त्री महीन्द्रराय यादव, पूर्व सभामुख ओनसरी घर्ती, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही आदि छन् ।
आयोगका अनुसार नेपाली कांग्रेसका नेताहरू गगन थापा, रमेश लेखक, विजय गच्छदार, महालक्ष्मी डिना उपाध्याय, शंकर भण्डारी, पदमनारायण चौधरी लगायतसँग १५ हजार जरिवाना लिने निर्णय भएको हो ।
साथै नेकपा (एमाले)का शेरधन राई, राजन भट्टराई, एकबहादुर राना मगर, उमाशंकर अरगरिया नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल, ओनसरी घर्ती, पम्फा भुसाल, अञ्जना विशंखे आदि रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, रमेश खरेलले पनि खर्च विवरण सार्वजनिक गरेका छैनन् ।