रेवतीप्रसाद सापकोटाको नाम सञ्चार जगतमा नसुन्ने कम मात्र होलान् । शिक्षण पेशा छाडेर सञ्चार क्षेत्रमै काम गरेर केश फुलाउने सपना बोकेका सापकोटा हाल बागमती प्रदेशका सञ्चार रजिष्ट्रारको जिम्मेवारीमा छन् । रजिष्ट्रारको रुपमा दोस्रो कार्यकाल बिताइरहेका सापकोटा पत्रकारितामा राम्रो छाप बनाउन सफल व्यक्ति हुन् । सापकोटा सञ्चार रजिष्ट्रार हुनुमा आफूलाई कर्मले साथ दिएको ठान्छन् । उनी भन्छन्, ‘मैले गरेको कामको प्रभाव देखेर नै दोस्रो कार्यकालमा समेत रजिष्ट्रार भए ।’
पत्रकार सुरेश कसजू र कञ्चन प्रियदर्शीले पत्रकारिता सिकाएका थिए उनलाई । लेखनमा अब्बल सापकोटालाई सुरुवात देखि नै पत्रकार बन्ने हुटहुटी थियो । उनको लेखको शक्तिले अभिभावक पनि खुसी हुन्थे । स्याबासी दिने साथीभाइ पनि कम थिएनन् । अनलाइन, पत्रिका, टेलिभिजन र विदेशमा समेत लामो समय पत्रकारिता गरेका सापकोटा आफूसँग रेडियोमा काम गरेको अनुभव मात्र नभएको बताउँछन् ।
मुलुकको विकासका निम्ति मानव श्रोतमा लगानी गर्नुपर्ने मान्यता सापकोटाको छ । उनी भन्छन्, ‘मानव स्रोतमा लगानी गर्ने कुरामा धेरैको रुचि हुँदैन तर, मेरो रुचि मानव स्रोतमा लगानी गर्ने कुरामा छ ।’
रजिष्ट्रार भएपछि उनले बागमती प्रदेशका पत्रकारहरूका लागि अनुकरणीय कामहरू गर्दै आएका छन् । यसकारण उनी आफ्नो कामको अनुकरण अन्य प्रदेशले गरुन् भन्ने ठान्छन् । आफू रजिष्ट्रार हुँदा सुरुमा कुनै कानून नभएको र आफैंले ट्रयाक ओपन गरेर कानून बनाएको सापकोटा बताउँछन् । संघिय सरकारले प्रदेशसँग पनि नीति तथा कानुन बनाउन सल्लाह लिनुपर्नेमा उनी जोड दिन्छन् ।
उनी भन्छन्, ‘हाल सरकारले बनाउन लागेको सूचना तथा सञ्चार क्षेत्रको कानून जस्ताको तस्तै अवस्थामा संसद्मा गएर पास भयो भने आगामी दिनमा सञ्चार माध्यम र पत्रकारले भोग्नुपर्ने नियति यो भन्दा जटिल हुनेछ । मैले उहाँहरूले बनाउन लागेको कानूनहरूको मस्यौदा हेरेको छु । करेक्सन भएन भने त्यो अव्यवहारिक ठहरिने छ ।’
राजनीतिक हेरफेरले पनि नीतिगत रूपमा समस्या निम्त्याउने उनको भनाई छ । उनले भने, ‘स्वार्थ नमिल्दा पनि समस्या हुने रहेछ । काम गर्नुभन्दा चुप लागेर बस्ने कि भन्नेहरू पनि देखिएका छन् । यसो गर्नु राम्रो होइन । हामी जति दिन पदमा रहेका हुन्छौं हरेक दिन मेरो लागी अन्तिम दिन हो भनेर काम गर्न सक्नुपर्छ ।’
व्यवस्था डट कमको टोली ललितपुरको जावलाखेलस्थितप्रसारण तथा सूचना शाखा काठमाडौ उपत्यका कार्यालय पुग्दा सापकोटा सञ्चार माध्यमको नवीकरण तथा पत्रकार परिचयपत्रको नवीकरण फारममा साइन गर्न व्यस्त देखिन्थे । आइतबार नै बागमती प्रदेशको कार्यालय हेटौंडा पुग्नुपर्ने भएकाले शुक्रबार काठमाडौंमा रहेको पेडिन्ङ कामहरू सक्नुपर्ने थियो उनलाई ।
२३ वर्ष पत्रकार भएर काम गरेका सापकोटालाई सुरुका दिनहरूमा सञ्चार रजिष्ट्रारको कार्यालयमा नियुक्त हुँदा नियमावली, कार्यविधि र आफूले गर्नुपर्ने कामको बारेमा कुनै जानकारी थिएन । ‘२०७५ चैत २७ गते बागमती प्रदेश मन्त्रीपरिषद्ले मलाई सञ्चार रजिष्ट्रारको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यो दिनसम्म पनि म सञ्चारकर्ममै थिए । चैत २७ गते दि हिमालय टाइम्सको फ्रन्ट पेजमा मेरो बाइलाइन स्टोरी नै छ । सञ्चार रजिष्ट्रार भइयो भन्ने जानकारी त आयो तर आफूले गर्नुपर्ने कामको बारेमा अनविज्ञ थिए ।’, सापकोटा भन्छन् । जहाँ काम गरेपनि उनी काममा फोकस हुनुपर्ने मान्यता राख्छन् ।
२०७६ साल वैशाख ५ गते औपचारिक रूपमा नियुक्ति पत्र लिएका रेवतीले आफू रहेको कार्यालयका लागि आफैं नियम, कानुन बनाएको बताउँछन् । उनी रजिष्ट्रार हुँदा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ मात्र थियो । न उनी बस्ने कार्यालय थियो, न कर्मचारी । आफैंले ऐनको निर्देशनमा चल्ने नियमावली बनाए र प्रदेशबाट सञ्चार माध्यममा हुने कामको बारेमा सोच्न थाले ।
सापकोटा शुक्रबारको कार्यालय भ्याएर काठमाडौं आइ शनिबार अग्रजहरूसँग भेटेर कस्तो नियम र नियमावली बनाउने भन्ने बारेमा छलफल गरेको सम्झन्छन् ।
बागमती प्रदेशका पत्रकारहरू काठमाडौं नै बढी बस्ने भएकाले सहज वातावरण बनाउन २०७६ साउनको १६ गते काठमाडौंमा सम्पर्क कार्यालय सुरु भयो । उनको सुरुआती काम नै पत्रकार परिचयपत्र वितरण गर्नतर्फ केन्द्रित थियो । हरेक पत्रकारको परिचय राम्रो होस भन्ने चाहाना राख्ने उनी बागमती प्रदेशमा दर्ता भएका मिडियामा काम गर्ने पत्रकार र प्रदेशमा क्रियाशील अग्रज पत्रकारलाई स्वतन्त्र पत्रकारको परिचयपत्र दिएको बताउँछन् ।
उनले सुरुका दिनमा १३ जना पत्रकारलाई परिचयपत्र वितरण गरेका थिए । बागमती प्रदेशबाट हालसम्म ८ सय ८७ जना पत्रकारहरूले पत्रकार परिचयपत्र लिइसकेका छन् । उनी भन्छन्, ‘व्यवस्थापक, क्रियाशील पत्रकार र सिनियर पत्रकारलाई छुट्टाछुट्टै परिचयपत्र दिने गरेका छौं ।’
उनको कार्यकालमा बागमती प्रदेशमा २ सय भन्दा बढी अनलाइन दर्ता भइसकेका छन् । दर्ता भएका सबै अनलाइनहरूलाई लोक कल्याणकारी विज्ञापन समेत दिने गरेको उनी बताउँछन् ।
२ सय २२ भन्दा बढी पत्रकारहरूलाई आर्थिक बर्ष २०७९/२०८० आवासीय रूपमा तालिम समेत सञ्चालन गरेको बताउँदै सापकोटाले आफूहरूले तालिम दिएका ८० प्रतिशत पत्रकारहरूले सक्रिय रुपमा काम गरिरहेको दाबी गर्छन् । अगाडिका आर्थिक वर्षहरुमा पनि त्यत्तिकै संख्यामा पत्रकारहरुलाई तालिम दिएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘हाम्रो तालिममा सहभागी भएका साथीहरूले समय बर्बाद गर्ने कुनै चान्स नै हुँदैन । घुम्न जाने, रिफ्रेश हुन जाने सोचेर पत्रकार तालिम लिन जाने कल्पना गर्न नै सक्दैन । १२, १३ घण्टा उसले ट्रेनिङमा काम गर्नुपर्छ ।’
मुलुकको विकासका निम्ति मानव श्रोतमा लगानी गर्नुपर्ने मान्यता सापकोटाको छ । उनी भन्छन्, ‘मानव स्रोतमा लगानी गर्ने कुरामा धेरैको रुचि हुँदैन तर, मेरो रुचि मानव स्रोतमा लगानी गर्ने कुरामा छ ।’
आमसञ्चार माध्यमले ग्रामीण क्षेत्रका विषयवस्तु छोडेको हुनाले ग्रामीण क्षेत्रको विषयवस्तु उठाइदिन हाल युट्युबहरू जन्मिएको सापकोटाको भनाई छ । ‘पारिवारिक विघटन, व्यवस्थाका कुरा, संविधान लगायतका कुरा पनि युट्युबमा आइराखेको छ । कानून अनुसार बाझिएका कुराहरू रोक्नका लागि सञ्चार माध्यमहरू तयार हुनुपर्छ’
सञ्चारका पुराना कानुनहरू परिमार्जन गर्नुपर्छ
रजिष्ट्रार सापकोटा पछिल्लो पटक न्यु मिडियाले सञ्चार माध्यमलाई ओभरटेक गरेकोप्रति भने सन्तुष्ट छैनन् । पछिल्लो समय सञ्चार माध्यममा देखिएको विकृति, विसङ्गति रोक्न ज्यादै कसरत गर्नुपर्ने उनको भनाई छ । ‘नियम कानूनको पालना गर्नु त छँदैछ । कतिपय कानूनहरू आफैंलाई चित्त बुझेको हुँदैन’, उनी भन्छन्, ‘सञ्चार क्षेत्रका केही कानूनहरू संशोधन गर्नुपर्ने देखिएको छ । कानुन आफूले मात्र संशोधन गर्ने नसकिने रहेछ । यसका विधि र प्रक्रियाहरू छन् । पत्रकार र प्रशासनको बीचमा आफू पर्ने भएकाले दुवैको पेलानमा म परिराखेको छु ।’
नीतिगत जटिलताका कारण पत्रकार र प्रशासन दुवैले उठाएका कतिपय जायज विषयहरू पनि आफूहरूले कन्भिन्स गर्न नसकिने चुनौती रहेको सापकोटा बताउँछन् । राजनीतिक हेरफेरले पनि नीतिगत रूपमा समस्या निम्त्याउने उनको भनाई छ । उनले भने, ‘स्वार्थ नमिल्दा पनि समस्या हुने रहेछ । काम गर्नुभन्दा चुप लागेर बस्ने कि भन्नेहरू पनि देखिएका छन् । यसो गर्नु राम्रो होइन । हामी जति दिन पदमा रहेका हुन्छौं हरेक दिन मेरो लागी अन्तिम दिन हो भनेर काम गर्न सक्नुपर्छ ।’
सञ्चार रजिष्ट्रारको रुपमा आफूले जति काम गरेका छन् त्यसरी नै संघीय निकायले काम गरिदिए प्रदेशहरूले ज्यादै मेहनत गर्नुनपर्ने समेत उनी बताउँछन् । सूचना र सञ्चारलाई नियमन गर्ने कानुन ३० वर्ष पुरानो भएको भन्दै उनी पुरानो कानुनलाई प्रदेशहरूले कानुन बनाउँदा कपि गर्नु नहुने तर्क गर्छन् । प्रदेशहरू २०७४ सालमा बनेको भन्दै त्यति बेलाको समयदेखि प्रदेशहरूले कानुन बनाउनुपर्ने उनको जोड छ ।
सूचना तथा सञ्चार सम्बन्धी ऐन, नियमावलीको वेशमा रहेर प्रदेशमा कानुनहरू बनेको उनी बताउँछन् । रजिष्ट्रार सापकोटा भन्छन्, ‘संघ भन्दा प्रदेशहरू क्रियाशील र परिमार्जित छन् । बागमती प्रदेशबाट संघीय सरकारहरूले धेरै कुराहरू सिकेका छन् । हामीले ४ वर्ष अगाडि बनाएको पत्रकार परिचयपत्र उनीहरूले अहिले त्यसैगरी सुरु गरेका छन् ।’
मूलधारका मिडियाले ठाउँ नदिँदा युट्युबहरूले ठाउँ पाए
पत्रकारिता राजनीतिबाट गाइड भएको बताउने सापकोटा पत्रकारको आस्था जहाँ भएपनि समाचार कक्षमा छिर्दा हरेक पत्रकारले आफ्नो आस्थालाई गोजीका राखेर सत्यसँग नजिक भएर काम गर्नुपर्ने बताउँछन् ।
आमसञ्चार माध्यमले ग्रामीण क्षेत्रका विषयवस्तु छोडेको हुनाले ग्रामीण क्षेत्रको विषयवस्तु उठाइदिन हाल युट्युबहरू जन्मिएको सापकोटाको भनाई छ । ‘पारिवारिक विघटन, व्यवस्थाका कुरा, संविधान लगायतका कुरा पनि युट्युबमा आइराखेको छ । कानून अनुसार बाझिएका कुराहरू रोक्नका लागि सञ्चार माध्यमहरू तयार हुनुपर्छ’, उनी भन्छन्, ‘युट्युबमा गलत र भ्रामक कन्टेन्टहरू मात्र आएपछि समाजको मन त्यतातिर तानिएको पनि छ । त्यसलाई रोक्नका लागि सञ्चार माध्यमले राम्रो कन्टेन्ट उत्पादन गर्नु आजको चुनौती हो ।’
सञ्चारमाध्यममा दुर्गम गाउँका खबर आउनै छाडेको भन्दै सापकोटा यसको कारण खस्कँदो अर्थतन्त्र पनि भएको तर्क राख्छन् । उनी भन्छन्, ‘पछिल्लो समय हाम्रो समाचारका विषयहरू खुम्चँदै गएका छन् । यसको कारण अर्थतन्त्र नै हो ।’
सञ्चार माध्यममा काम गर्ने जनशक्ति उत्पादनमा राज्यको लगानी हुनुपर्ने उनको भनाई छ । ‘आज कुनैपनि पत्रकार स्थानीय छैनन् र कुनै पनि मिडिया स्थानीय छैनन्’, उनी भन्छन्, ‘सूचना र प्रविधिले यो खालको विकास गरेको छ । प्रविधिले ज्यादै फड्को मारेको छ तर, कानून पुरानो हुँदा व्यवहारिक रुपमा समस्या देखिएका छन् ।’
सञ्चार सम्बन्धी कानूनमा व्यापक कानूनी जटिलता रहेको बताउँदै उनी सञ्चार माध्यमले पनि कन्टेन्टमा बल गर्नुपर्ने बताउँछन् । मिडिया र सञ्चार माध्यमको बीचमा बसेर पुलको काम गर्दै आएका सापकोटा आफ्नो जिम्मेवारीप्रति गर्व गर्छन् । मिडिया सञ्चालक र पत्रकार बीचमा काम गर्दा मालिक र श्रमजीवि पत्रकार दुवैको हितमा सन्तुलन मिलाएर काम गर्नुपर्ने उनी बताउँछन् ।