काठमाडौं । यतिबेला देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोभने देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीभने देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो वर्षा
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ। अहिले पनि कतिपय ठाउँमा पानी परिरहेको छ । उपत्यकामा अहिले बिहान वर्षा केही कम भएको छ । पछिल्लो ६ घण्टामा पर्वतको कर्किनेटामा रहेको वर्षामापन केन्द्रमा ८० दशमलव २ मिलिमिटर पानी परेको छ ।
यस्तै पछिल्लो ६ घण्टामा काठमाण्डौको कपन, सुन्दरीजल, नैकाप, पानीपोखरी र बबरमहलमा रहेका वर्षामापन केन्द्रमा पनि ठूलो वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै ललितपुरको खुमलटार र गोदावरीक्षेत्र तथा तथा सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ ।
काठमाण्डौ उपत्यकाको बाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा हुनेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यस्तै गौरीघाटको बाग्मती, विष्णुमती, धोविखोला लगायतका नदीमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले त्यहाँ पनि उच्च सतर्कता अपनाउन भनिएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाकाली र यसका प्रमुख सहायक नदीहरू र कर्णालीको सहायक नदी भेरी र पश्चिम सेती नदीको जलसतह उल्लेख्य बढ्ने पुर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।