पर्सा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती ऐन संसद्बाट चाँडै पास हुनेमा विश्वास व्यक्त गरेका छन् ।
नेकपा एमाले पर्साले मंगलबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले साढे २ महिनाभित्रै निजामती ऐन संघीय संसद्बाट पारित गर्ने गरी काम भइरहेको दाबी गरे ।
उनी मन्त्री भएसँगै पहिलोपटक गृहजिल्ला आएका हुन् । ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज आठौं दिन भएको छ । मैले २ वटा कामलाई उच्च प्राथमिकतामा राखेको छु,’ उनले भने, ‘पहिलो प्राथमिकतामा संघीय निजामती ऐनलाई टुंगोमा पुर्याउनेछु ।’
मन्त्री गुप्ताले निजामति कर्मचारीको सरुवामा हुने गरेको विकृतिलाई पनि अन्त्य गर्ने गरी नियमावली निर्माणलाई पनि उच्च प्राथमिकतामा राखेको बताए । उनले कर्मचारीको सरुवालाई व्यवस्थित गराउनका लागि नियमावली बनाउन लागेको पनि जानकारी दिए ।
‘जहाँ जे जस्तो दरबन्दी छ । सोहीअनुसारका कर्मचारी खट्ने व्यवस्था गर्नेछौं । यसले जथाभावी कर्मचारी सरुवा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ,’ उनले भने ।