काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिकका माध्यमबाट विश्वको समृद्धि तथा प्रविधि भित्र्याउने काममा लाग्न नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूलाई आग्रह गरेकी छन् ।
नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर, कर्पस नेपालको १७औं वार्षिक साधारणसभा तथा ‘चार्टर डे’ समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री डा. राणाले भनिन्, ‘यहाँहरू यति धेरै देशसँग जोडिनुभएको छ, त्यो नेपालका लागि पनि खुसीको कुरा हो । यहाँहरु जुनजुन देशसँग जोडिनुभएको छ, ती देशको समृद्धि, प्रविधि तथा ज्ञानलाई नेपालसम्म ल्याउन र ती देशबाट नेपालमा लगानी भित्र्याउने काममा लाग्न म यहाँहरुलाई आग्रह गर्दछु ।’
मन्त्री डा. राणाले नेपालको संस्कृति, यहाँको पर्यटन र सम्पदाहरु संसारकै अलौकिक र अद्वितीय रहेकाले यिनको प्रचारगरी विश्वस्तरमा पुर्याउन आग्रह गर्दै संसारका पर्यटक नेपाल भित्र्याउने काममा अनररी कन्सुलरहरको भूमिका महत्वपूर्ण हुने धारणा पनि राखिन् । उनले नेपालले लिएको शान्ति, मानव अधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धताको सन्देश पनि विश्वमा पुर्याउन आग्रह गरिन् ।
मन्त्री डा. राणाले संसारमा नेपालको अलग्गै पहिचान रहेको र हाम्रो परम्परा र सम्पदाहरू विश्वका पर्यटकहरुका लागि आकर्षणका केन्द्र भएकाले विश्वका यतिधेरै देशससँग जोडिएका वाणिज्यदूतहरुले नेपालमा पर्यटन क्षेत्रको प्रवर्धनका लागि लाग्नुपर्नेमा जोड दिइन् । उनले नेपाल अब राजनीतिक स्थायित्वमा प्रवेश गरेकाले वैदेशिक तथा स्वदेशी लगानीका लागि पनि लाग्नुपर्नेमा जोड दिइन् ।
मन्त्री डा. राणाले भनिन्, ‘मलाई लाग्छ राजनीतिक अस्थिरताका कारण पनि धेरै कुरामा असर पर्दछ । अब देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरेकाले देशमा राजनीतिक स्थायित्वको वातावरण निर्माण भएको छ । त्यसैले यहाँहरुलाई ढुक्क भएर लगानी गर्न र नेपालमा बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने काममा लाग्न पनि मेरो आग्रह छ ।’