काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति देखि वर्षा भइरहेको छ । अहिले बिहान पनि केही ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नवलपुरमा ७५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी सुर्खेतको गोथीखण्डमा ७१ मिलिमिटर पानी परेको छ । पश्चिम नवरपरासीको देउराली, पर्वतको कार्कीनेटा, दैलेखको डाडागाउँ, गोर्खाको आरुघाट र बारपाक, लम्जुङको बेसीशहर लगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम पानी परेको छ ।
यसैबीच सिन्धुपाल्चोकको बाउनेपाटी, बोल्डे, नवलपुर र आसपासको क्षेत्रमा ठूलो वर्षा भएकाले यस क्षेत्र भइ बहने मेलम्ची र ईन्द्रावती नदीको जलसतह बढ्ने र अन्य स–साना खोलामा आकस्मिक बहाव भएर पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै महाकाली, कर्णाली र यसका प्रमुख सहायक नदीको जलसतह उल्लेख्य बढ्ने पुर्वानुमान छ ।
दिउँसो भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।