बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन् । सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।
मुख्यमन्त्री आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित भए । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् ।
गिरी निकट एक एमाले सांसदले भने गिरी अस्वस्थ भएका कारण सपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरे । एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन् ।
संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए। मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने छ ।