काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिएका छन् ।
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज (बुधबार) विहान दुर्घटना भएको थियोे । दुर्घटनामा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्नेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
“जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उनले भने, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ ।”
विमानमा चालक दलका सदस्य सहित १९ जना सवार थिए । पोखरामा बिग्रिएको जहाज बनाउन हिँडेका सबै यात्रु सौर्य एयरको इन्जिनियर र कर्मचारी हुन् । विमानमा कोपाइलट एस कटुवाल, अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए ।
गत वर्ष काठमाडौँबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।