काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वच्छ पिउने पानी र सरसफाइलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरूमा गरेको निरीक्षणका क्रममा ती अस्पतालहरूमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपत्यकाका वीर, शहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए ।
यसका साथै अस्पतालहरूमा शल्यक्रियापश्चात् बिरामी राख्ने वार्डहरूमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनु पर्ने मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले गर्मी मौसममा सर्पदंश, आगलागी, झाडापखाला, डंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै बिरामीलाई उपचार सेवा पुर्याउन सक्नेगरी आवश्यक औषधी, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पतालहरूलाई निर्देशन दिएको छ ।
गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपायस्वरूप स्थानीयस्तरका रेडियो, एफएम र पत्रपत्रिकामार्फत् जनचेतनामूलक सूचना सम्प्रेषण गर्नसमेत अस्पतालहरूलाई
मन्त्रालयले आग्रह गरेको छ ।
हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गरी आम नागरिकको जीवनरक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउनसमेत मन्त्रालयलले मातहतका संघीय, प्रादेशिक र स्थानीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।