काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ । यो अबधिमा ५ जना गृहमन्त्री बने । निर्मलाको हत्या भएदेखि अहिलेसम्म रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, फेरि रवि लामिछाने र हाल रमेश लेखक गृहमन्त्री भइसकेका छन् ।
नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह र हाल बसन्त कुँवर प्रहरी प्रमुख भए । हरेक गृहमन्त्री र प्रहरी प्रमुखले निर्मला पन्तको हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्ने रडिमेट जवाफ दिदै आएका छन् ।
अझ लामिछानेले पहिलो पल्ट गृहमन्त्री हुँदा नै १०० दिन भित्रै हत्यारा पत्ता लगाउँछु भनेका थिए तर दोस्रो पटक गृहमन्त्री भएर पनि बाहिरी सकेका छन् घटना अझै रहस्यमै छ ।
अनुसन्धानका क्रममा १२४ जनाको डीएनए परीक्षण गरिएको थियो । एउटै घटनाको अनुसन्धानका लागि यति धेरै मान्छेको डीएनए जाँच गरिएको यो पहिलो रहेको प्रहरी अधिकारीहरू बताउँछन् । तर अहिलेसम्म कसैसँग पनि डीएनए म्याच गरेको भएको छैन । यो ६ वर्षको अवधिमा प्रत्यक्ष भेटेरै अहिलेसम्म ६५५ जनासँग सोधपुछ गरिएको छ ।
यो घटनाको अनुसन्धानमा राज्यको ३२ लाख ९० हजार खर्च भइसकेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । पन्तको बलात्कार र हत्याबारे अनुसन्धानका लागि अहिलेसम्म ६ वटा समिति बनेका छन् ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै उखुबारीमा मृत भेटिएकी थिइन् । त्यसपछि स्थानीयद्वारा भीमदत्त नगरपालिकाको गेटमा टायर बालेर आन्दोलन गर्ने क्रममा प्रहरी र सर्वसाधारण बीच झडप भयो। दोषीलाई कारवाहीको माग गर्नेक्रममा भएको आन्दोलनमा भीमदत्त १८ का १५ वर्षीय सनी खुनाको पनि ज्यान गयो ।
संयोग भनौ अहिलेका गृहमन्त्री रमेश लेखक कञ्चनपुर क्षेत्र नं. ३ बाटै निर्वाचन जितेका हुन् । पन्तको हत्या भएपछि भएको सडक आन्दोलनमा कञ्चनपुरका लेखक समेत सहभागी भएका थिए । २१ असोज २०७५ मा काठमाडौंकै एक कार्यक्रममा लेखकले हत्याराले संरक्षण पाइरहेको बताएका थिए ।अब त्यो संरक्षण पाएका हत्यारा पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने जिम्मेवारी लेखकको काँधमा थपिएको छ ।