काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसद रोशन कार्कीले अभिभावक शिक्षालाई जोड दिनुपर्ने बताए । उनले कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी नरहेको विषयलाई हेर्नुपर्नेमा जोड दिए।
नेपालमा बालबालिकाको शैक्षिक विकासमा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन ९युनेस्को०ले खेल्दै आएको भूमिकाबारे आज भएको छलफलमा सांसद शान्ति श्रेष्ठले युनेस्कोले शिक्षाको क्षेत्रमा राम्रो भूमिका निर्वाह गरेको बताए । उनले अभिभावक तथा शिक्षकहरुलाई पनि अनौपचारिक शिक्षाको खाँचो रहेको बताए ।
सांसद सीताकुमारी रानाले भविष्य राम्रो बनाउने हो भने बालबालिकामा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । युनेस्कोको शिक्षा विभाग प्रमुख ध्रुवराज रेग्मीले युनेस्कोले शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आइरहेको बताए । उनले सरकारले औपचारिक शैक्षिक क्षेत्र प्राथमिकतामा राखे पनि अनौपचारिक क्षेत्र छुटाएको बताए । उनले भने, अनौपचारिक क्षेत्रलाई छुटाउनुभएन । तथ्याङ्क हेर्ने हो भने साक्षरतामा मुलुकले राम्रो गरिरहेको छ । समयसँगै साक्षरताको परिभाषा फरक बनिसकेको छ । त्यसैले पाठ्यक्रममा परिमार्जन ल्याउन जरुरी देखिन्छ ।
उनले युनेस्कोले ‘ग्रिनिङ एजुकेसन को अवधारणा ल्याएको जसले जलवायु परिवर्तनको विषयलाई कसरी पाठ्यक्रममा लान सकिन्छ भन्नेमा काम भइरहेको बताए।
युनेस्कोका सञ्चार तथा सूचना अधिकारी निर्जना शर्माले कोभिडका बेला धेरै बालबालिका अनलाइन शिक्षामा जोडिन पुगेको तर अहिले त्यसको नकारात्मक असर देखिरहेको तथ्य उजागर गर्नुभयो । उनले भने, कोभिडका बेला सिकाइको माध्यम नै भर्चुअल माध्यम बन्यो तर सही र गलत छुट्याउन नसक्दा धेरै बालबालिका विशेषगरी छात्राहरु अनलाइनबाट दुव्र्यवहार भोगिरहेका छन्, जसले गर्दा मानसिक समस्या बढेको छ ।
उनले अनलाइन हिंसालाई कम गर्ने विषय युनेस्कोले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।