धेरैको इच्छा हुन्छ समाज परिवर्तन गर्ने तर समाज परिवर्तन त्यत्तिकै हुँदैन । अन्धविश्वास नै विश्वासको रूपमा स्थापित हुने पुरातनवादी समाजमा सदियौँदेखि जरा गाडेर बसेका मूल्य, मान्यता, विश्वास, परम्परा र रीतिरिवाजलाई एकैचोटि परिवर्तन गर्न गाह्रो हुन्छ किनकि हाम्रो समाज यस मानेमा रूपान्तरणमैत्री कम र प्रतिक्रियात्मक बढी छ । अझ हाम्रो जस्तो समाजले परिवर्तनलाई तुरुन्तै रुचाउन र पचाउन सक्दैन तर यथास्थितिवादी समाजलाई बदल्न क्रान्ति अपरिहार्य नै हुन्छ र क्रान्तिको स्वरूप मूलतः दुई किसिमका हुन्छन्, एक सशस्त्र र अर्को निशस्त्र ।
क्रान्तिको सुरुवात
निशस्त्र क्रान्तिकै स्वरूप हलो आन्दोलनले २००३ सालमा च्यानपाटा स्वाँराको ठाँटीमा लगाइएको महाभारत पुराणबाट नै एक किसिमको आकार लिइसकेको थियो । समाजमा विद्यमान रहेका राम्रा प्रथाहरूलाई निरन्तरता दिनु पर्छ, जुन प्रथाले समाजलाई भाँड्छ र सामाजिक सद्भावलाई खल्बल्याउँछ त्यस्ता प्रथा, कुरीति र अन्धविश्वासको जालोलाई फ्याँक्नु पर्छ भन्ने दृढ अभिलाषा र लक्ष्यका साथ आजभन्दा साढेसात दशकअघि २००६ साल साउन ११ गते लमजुङको दुराडाँडा अर्चल्यानीको बाटेगह्रो भन्ने ठाउँमा पण्डित तोयनाथ अधिकारीको अगुवाइमा (लप्टन शेषकान्त, मुखिया हरिभक्त र श्रीकान्तसमेत) सत्ताइस जना ब्राह्मणले हलो जोतेर निशस्त्र आन्दोलन भयो । हुन त त्रेता युगमा राजा जनकले यज्ञकै सिलसिलामा हलो जोतेका थिए र त्यही क्रममा सीताको जन्म भएको भन्ने विश्वास गरिन्छ । त्यति बेलाको समयमा नै महाराजले पद, प्रतिष्ठा र जातको पर्वाह नगरी कर्म गर्न कुनै कुराले पनि छेक्दैन भन्दै समाजलाई एक किसिमका सन्देश दिएका थिए । तत्कालीन समयमा राजा जनकको त्यो कदम धेरै नै क्रान्तिकारी थियो । सायद यसैलाई आधार मानेर हलो अभियानले क्रान्तिको मूर्त रूप लिएको ।
समाजमा तर्कवादी मान्यताभन्दा विश्वासवादी मान्यता हाबी हुने भएकाले ब्राह्मणले जोत्न नहुने भन्ने विश्वास रही आएको देखिन्छ । शास्त्रमा नलेखिएका र त्यसले मान्यता नदिएका विषयलाई पनि लोकधर्ममा समावेश गरिएको पाइएकाले यसैलाई आधार मानेर ब्राह्मणलाई हलो जोत्न वर्जित गरिएको विश्वास गरिन्छ । ब्राह्मणले हलो जोत्न हुँदैन भनेर वेदमा कहीँकतै उल्लेख गरिएको पाइँदैन ।
हुन त कुनै समय पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने, सिनेमा हेर्ने, गीतसङ्गीतमा रमाउने, प्रेमपत्र लेख्ने र चर्पी बनाउनेलाई समेत त्यति बेलाको समाजले भँडुवाको रूपमा हेर्दथ्यो । ब्राह्मणहरूले हलो जोत्न हुँदैन भन्ने लोक मान्यतालाई चुनौती दिँदै पण्डित तोयनाथले निशस्त्र क्रान्तिलाई अँगाले । जोत्ने क्रममा उनले लट्ठी समातेनन् र लट्ठी नलिएपछि गोरुलाई चुट्ने कुरै भएन । यसको मतलब ‘क्रान्ति गर्न हतियार नै समात्नु पर्छ भन्ने छैन’ भन्ने स्पष्ट सन्देश यो थियो । हलो जोत्ने क्रममै उनले एक जना दलितलाई पानी ल्याउन लगाएर उनकै हातको पानी खाएका थिए । त्यस्तै माइत आएकी छोरीलाई घर पठाउँदा एक जना दलितलाई कोसेली बोकाई पठाएको र घरपट्टिकाले कोसेलीसहित बुहारीलाई माइत फिर्ता पठाएको गाउँलेहरू अझै सुनाउँछन् । यसबाट प्रस्ट हुन्छ कि उनले त्यतिबेलाको समयमा सामाजिक भेदभाव÷छुवाछुतविरुद्ध एक किसिमको जेहाद छेडेका थिए।
पुरातनवादी समाज र चुनौतीपूर्ण घडीको बिचमा चेतनाको बत्ती बाल्ने दृढ अठोट राखेर नै हलो क्रान्ति हुन गएको थियो । परम्परागत राज्यशक्तिले जनमानसको रूढिवादी सोच र मनोविज्ञानलाई ढाल बनाई परिवर्तनकारी शक्तिलाई दमन गरेको कारणले त्यसैको विरुद्धमा हलो क्रान्तिले सुरु भएको मानिन्छ । ब्राह्मणको मुख्य काम भनेकै विद्या र ज्ञानलाई प्रयोग गर्दै जिब्रोलाई हतियार बनाई समाजमा श्रेष्ठता प्रदर्शन गर्नु र धार्मिक कार्यमा संलग्न हुनु मानिन्थ्यो । यस्तो समाजमा लोकले स्थापित गरेका मान्यताविरुद्ध गएर क्रान्ति गर्नु भनेको चानचुने कुरा थिएन ।
त्यति बेला समाज स्पष्ट रूपमा दुई वटा वर्गमा बाँडिएको थियो । एउटा वर्ग थियो, परम्परागत चिन्तन बोक्ने तथा शासकको वरिपरि घुम्ने र अर्को वर्ग थियो, समाजमा रहेका परम्परागत चिन्तन तथा रूढिवादी मान्यताविरुद्ध सामाजिक जागरणको स्वर प्रस्तुत गर्ने । पहिलो वर्गले दोस्रोलाई देख्न सक्दैनथ्यो र त्यसैले भनिन्थ्योस “शेषकान्त लप्टन हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोती बिग्रे । हलो जोत्ने मुख्य यिनी तीन् जना हुन्, अबदेखि खालान् पाथिभात बाहुन् ।” गोरु÷साँढे गाईको सन्तान र शिवजीको वाहन भएकाले पाशुपत क्षेत्र या नेपालमा गोरु जोत्न नहुने र ब्राह्मणले यो कर्म गर्न नहुने भन्ने लोक मान्यतामा आधारित देखिन्छ ।
समाजमा तर्कवादी मान्यताभन्दा विश्वासवादी मान्यता हाबी हुने भएकाले ब्राह्मणले जोत्न नहुने भन्ने विश्वास रही आएको देखिन्छ । शास्त्रमा नलेखिएका र त्यसले मान्यता नदिएका विषयलाई पनि लोकधर्ममा समावेश गरिएको पाइएकाले यसैलाई आधार मानेर ब्राह्मणलाई हलो जोत्न वर्जित गरिएको विश्वास गरिन्छ । ब्राह्मणले हलो जोत्न हुँदैन भनेर वेदमा कहीँकतै उल्लेख गरिएको पाइँदैन । कृषि कर्म नै हलोसँग सम्बन्धित हुने भएकाले त्यसमा विमुख हुँदा ब्राह्मण वर्ग अरूको श्रममा बाँची पराश्रयी हुनु परेको र दैनिकी नै असहज हुने गरेको स्पष्ट थियो किनकि सबै ब्राह्मण परिवार हली राख्न सक्ने क्षमताका हुँदैनन्, अर्थात् आर्थिक रूपमा सम्पन्न हुँदैनन् । यही असहजतालाई ध्यान दिँदै हलो जोत्ने अभियानले सार्थक रूप लिएको थियो ।
अभियानको प्रभाव एवं चुनौती
हलो जोत् (हलो क्रान्ति) को प्रभाव समाजका विभिन्न पक्ष, तह र तप्कामा परेको देखिन्छ । नयाँ चिन्तन लिएका, शिक्षित र समाजका सचेत प्रबुद्ध वर्गले यस क्रान्ति र यसका अभियन्तालाई समर्थन गरे भने तिनै अभियन्तालाई कांग्रेस भएको आरोप लगाई तत्कालीन शासक वर्ग र तिनको वरिपरि घुम्नेहरूले राजनीतिक रङ छर्किएको पनि पाइन्छ । हलो क्रान्तिले सामाजिक तहमा यथास्थितिवादी र परिवर्तनकामी पक्षका बिचमा द्वन्द्व सिर्जना गरेको स्पष्ट देखिन्छ ।
यथास्थितिवादीहरूद्वारा हलो जोत्ने ब्राह्मण वर्ग, तिनका परिवार र शाखा सन्तानलाई सामाजिक रूपमा एक किसिमको बहिष्कार जस्तो व्यवहार गरिएको थियो । अभियन्ताहरूलाई जातफाला, छाडा, नास्तिक, समाज भँडुवा, अधर्मी, वर्ण धर्मविरोधी जस्ता शब्दले आलोचना गरिन्थ्यो । यसैबाट आन्दोलनले सामाजिक तहमा पारेको प्रभावको मूल्याङ्कन गर्न सकिन्छ । हलो अभियानको प्रभाव बिस्तारै छिमेकी जिल्ला (तनहुँ, कास्की, गोर्खा, धादिङ, अर्घाखाँची) मा पर्न गई ती जिल्लामा समेत यसले व्रmान्तिको रूप लिएको थियो ।
नेपाली समाजमा मात्र नभई आज विश्वव्यापी रूपमा जटिल समस्या बन्दै गएको लागु पदार्थ, जाँडरक्सी, जुवातास, विकृति, विसङ्गति, हत्या हिंसालगायत विभिन्न किसिमका अपराधविरुद्धको क्रान्ति यो वा त्यो रूपमा आवश्यक छ । समाज बदल्ने सन्दर्भमा हलो अभियान एक महान् क्रान्तिकारी कदम थियो । यस्तो क्रान्तिका अभियन्ता इतिहासमा सधैँ अजर र अमर रहने छन् ।
क्रान्तिले दिएको सन्देश
हलो क्रान्ति शान्तिपूर्ण सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्तिको रूपमा रहेको देखिन्छ । अभियानले आवश्यकताभन्दा बढी मात्रामा रहेका अन्धविश्वास, रूढिवादी र पुरातनवादी सोचलाई बिस्तारै हटाउँदै समाजलाई गतिशीलता प्रदान गर्दै समयसापेक्ष कदम स्थापित गर्नु पर्छ भन्ने सन्देश दिएको प्रस्ट हुन आउँछ । श्रम र शिल्पबाट ठुलो र सानो जातिको उदय भएकाले त्यसलाई अन्त्य गरिनु पर्छ भन्ने सन्देश यसले दिएको पाइन्छ । त्यस्तै हलो क्रान्तिले भेदभाव÷छुवाछुतरहित समाज अर्थात् समतामूलक समाजको निर्माणमा सहयोग पुगेको अनुमान गर्न सकिन्छ । सदियौँदेखि समाजमा जरा गाडेर बसेका गलत किसिमका सोच, परम्परा एवं प्रथालाई उखेलेर फाल्नु पर्छ भन्ने सन्देश पनि प्रवाह गरेको देखिन्छ ।
समग्र समाज र देशलाई आत्मनिर्भर र समृद्धितर्फ लैजाने एक मात्र अचुक उपाय कृषि क्रान्ति हो र यसैबाट समाज एवं मुलुक आत्मनिर्भर हुनुका साथै आर्थिक रूपमा समृद्ध हुन्छ भन्ने सन्देश यसले दिएको छ । साथै सामाजिक, सांस्कृतिक, राजनीतिक व्रmान्तिको बिगुल पनि यस क्रान्तिले फुकेको देखिन्छ । हामी मिश्रित समाजमा रहेका छौँ । तसर्थ समाजमा आँच आउने कुनै पनि किसिमका भेदभाव, छुवाछुत र ठुलो सानो भन्ने व्यवहार हुनु हुँदैन भन्ने सन्देश प्रवाह भएको पाइन्छ । चिन्तन, मनन, सोच, विचार, विवेक र कर्मले मानिस ठुलो हुन्छ । जन्म अर्थात् जातले ठुलो सानो, उँचनिच हुँदैन भन्ने स्पष्ट सन्देश प्रवाहित भएको सहजै अनुभूति गर्न सकिन्छ ।
अन्त्यमा
त्यति बेलाको अवस्थामा एकातिर कठोर राणाकालीन शासन र तिनले लादेका नियम कानुन तगारोको रूपमा खडा थिए भने अर्कातर्फ रूढिवादी सोचविचारबाट ग्रसित परम्परावादी समाज र तिनले तेस्र्याएका अनुशासन र मर्यादाका काँडा थिए । यस्तो कठिन र असहज परिस्थितिमा पनि पण्डित तोयनाथलगायतले अदम्य साहस गरे, अनौ समाते, हलो जोते र क्रान्तिको बिगुल फुके । हलो क्रान्ति जस्ता समाजलाई बेला बेलामा झक्झक्याउने क्रान्ति हिजो पनि आवश्यक थिए, आज पनि आवश्यक छन् र भोलि पनि आवश्यक हुने छन् । मात्र क्रान्तिको स्वरूप फरक हुन सक्छ ।
नेपाली समाजमा मात्र नभई आज विश्वव्यापी रूपमा जटिल समस्या बन्दै गएको लागु पदार्थ, जाँडरक्सी, जुवातास, विकृति, विसङ्गति, हत्या हिंसालगायत विभिन्न किसिमका अपराधविरुद्धको क्रान्ति यो वा त्यो रूपमा आवश्यक छ । समाज बदल्ने सन्दर्भमा हलो अभियान एक महान् क्रान्तिकारी कदम थियो । यस्तो क्रान्तिका अभियन्ता इतिहासमा सधैँ अजर र अमर रहने छन् ।