तनहुँ । जिल्लाको व्यास नगरपालिकाले खेर गइरहेको फोहोर व्यवस्थापनबाट आम्दानी गर्ने योजना अघि बढाएको छ ।
पहिलो चरणमा नकुहिने फोहोरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ । वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख नवराज कँडेलले विगत लामो समयदेखि नकुहिने फोहोरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री वितरणको तयारी गरिएको जानकारी दिए ।
‘यसअघि वडा नम्बर ३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहोर व्यवस्थापन गर्दै आएका थियौं । त्यहाँको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहोर व्यवस्थापन गर्न लागिएको छ,’ उनले भने, ‘यसरी संकलित फोहोरको वर्गीकरण गरी बिक्री वितरणको योजना बनाएका छौं । त्यसका लागि ट्रष्ट निर्माण र व्यवस्थित वर्गीकरणका लागि आवश्यक मशिन खरिदको काम भइरहेको छ ।’
नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र ७ टन कुहिने फोहोर संकलन हुने गरेको छ । यसको दीगो व्यवस्थापनका लागि वडा नम्बर १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । यहाँ पूर्व निर्धारित स्थलमा फोहोर बिसर्जनका लागि भएको सम्झौता अवधि सकिएपछि साउन १ गतेदेखि दमौली बजार लगायत आसपासका क्षेत्रबाट नकुहिने फोहोर संकलनमा समस्या भइरहेको छ । कुहिने फोहोर वडा नम्बर १० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन हुँदै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले प्लाष्टिक, सिसा, कपडा र फलाम लगायत नकुहिने वस्तुलाई ६ किसिमले सूक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना बनाइएको जानकारी दिए । यसबाट मासिक १ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । यसअघि खाडल खनेर पुरिँदै आएको नकुहिने फोहोर अब सरसफाइ शाखाका कर्मचारी परिचालन गरी वर्गीकरण गर्ने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बिक्री वितरण गरिने गैरेले बताए ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले हालसम्म फोहोर व्यवस्थापनका लागि लाखौं रकम खर्च गरिरहेको नगरले अब त्यसैबाट आम्दानी गर्ने गरी काम गर्ने बताए । ‘हामीले सिसाका बोतल खरिद गर्न प्रस्ताव माग गरिसकेका छौं । सबै किसिमका वस्तु बिक्रीका लागि आवश्यक तयारी भइरहेको छ,’ उनले भने, ‘सरसफाइ क्षेत्रमा लाखौंं खर्च गर्दै आएकोमा अब फोहोरलाई आम्दानीको स्रोतका रूपमा अगाडि बढाउने छ । सोहीअनुसार आवश्यक काम भइरहेका छन् ।’