काठमाडौं । पूर्व सचिव गोपी मैनालीको ‘विशृंखलित सपना’ कथासंग्रह सार्वजनिक भएको छ । यो उनको पहिलो कथासंग्रह र समग्रमा आठौं कृति हो ।
शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कूलपति वैरागी काइँलाले कथासंग्रहको लोकार्पण गरे । त्यस अवसरमा उनले कथासंग्रह समाजको यथार्थ अवस्था चित्रण गर्ने उच्चकोटीको कृति रहेको बताए ।
सेवा निवृत्त भएका पूर्व प्रशासकले लेखेका कृतिले समाज र राष्ट्रलाई फाइदा पुग्ने साहित्यकार काइँलाको भनाइ थियो । पछिल्लो समयमा साहित्यकार र लेखकले कसरी किताब बिक्छ भन्नेमा मात्र ध्यान दिई पाठकलाई के बोध होला भन्ने नै सोच्न छोडेकामा उनको आपत्ति छ ।
लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले पूर्व प्रशासकले लेखनका माध्यमबाट आफ्ना अनुभव देश र समाजलाई दिनसक्ने बताए । सेवाकालमा कानून पालना गराउने कर्मचारी आलोचनाको पात्र हुने भएकाले त्यस्ता अनुभवलाई पनि पुस्तकमा उतारी भावी पुस्तासम्म लैजान सकिने उनको भनाइ थियो ।
पूर्व महालेखा परीक्षक टंकमणि शर्माले प्रशासन सेवामा हुँदा आफू अनुशासनमा बसेर कर्मचारीलाई पनि अनुशासनमा राख्ने कथाकार मैनालीले कथा संग्रहमा मानवीय विषयलाई समेटेको बताए ।
वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेले नेपाली समाजको यथार्थलाई कथामा उतारेकाले कथासंग्रह पठनीय बनेको बताए । उनले नेपालको संस्कृतिको झलक, प्रशासन भित्रको भ्रष्ट मानसिकता र असल पक्ष पनि कथामा समेटिएकाले समाजको यथार्थ झल्काउन कथासंग्रह सफल भएको उनको कथन थियो ।
जन्मस्थल रोशी खोला वरपरको सन्दर्भ जोडेर कथाकार मैनाली आञ्चलिकताको प्रयोग गर्न पनि सफल भएको उल्लेख गर्दै चालिसेले पहिलो कथासंग्रह भएर पनि उत्कृष्ट रहेको टिप्पणी गरे ।
नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले पछिल्लो समय लेखनका धेरै विषय भए पनि लेखकको नजरमा पर्न नसकेको धारणा राखेका छन् ।
नेपाली चलचित्रका नायक सरोज खनालले साहित्य र कला एउटै पाटो भएको उल्लेख गर्दै साहित्यकारले लेखेकै आधारमा कलाकारले प्रस्तुति गर्ने बताएका छन् । आफूले ३५ वटा नाटक खेलेकामा ३० वटा अनुवाद भएकाले यस्ता कृति धेरै रचना गर्न नेपाली साहित्यकारलाई सुझाव दिए ।
साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले पूर्व प्रशासकले अनुभवलाई लिपिबद्ध गरे भावी पुस्तालाई काम लाग्ने बताए । पूर्व प्रशासकले राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर सेवाकालीन अनुभवलाई पुस्तकमा समेट्नुपर्नेमा उनको जोड थियो ।