चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलताल दुर्घटनामा हराएको बस र यात्रु खोजीका लागि गत साउन ४ गते आएको १२ जना भारतीयकोे खोजी तथा उद्दार टोली आज फिर्ता हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरे पनि बस नभेटिएको प्रतिवेदन दिएर फिर्ता हुनेछ ।
१९ किलोको चुम्बक नै हरायो
शनिबार दिउँसो बसको खोजी लागि प्रयोग गरिएको १९ किलोको चुम्बक नै पानीमा हराएको छ । भारतबाट १४ र १९ किलोको दुईवटा चुम्बक ल्याएर खोजी गरिएको थियो । तीमध्ये १९ किलोको चुम्बक हराएको प्रहरी स्रोतले जानकारी दिएको छ । चुम्बकसँगै लाइफ ब्वाई ट्युब पनि पानीले बगाएको छ ।खोजीमा जुटेका नेपालका एक सुरक्षा अधिकारीले पानीको तीब्र प्रवाहका कारणले चुम्बक हराउनु सामान्य कुरा भएको बताए ।
काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको शनिबार १६ दिन पुग्यो ।
दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो, खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन । बाँकी यात्रु बेपत्ता छन् ।
दुर्घटनामा परेका यात्रुको परिवारजनले आफ्नो परम्परा अनुसार दाहसंस्कार पनि गरिसके । परिवारजनले १३ औं दिनको काजकिरिया गरिसक्दा पनि सुरक्षा निकायले शव खोजी जारी राखेका छन् ।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेका छन् ।