७५ क्षमताको बागलुङ कारागारमा १६६ कैदीबन्दी

७५ क्षमताको बागलुङ कारागारमा १६६ कैदीबन्दी

बागलुङ । जिल्ला कारागार, बागलुङमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् । 

कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । 

कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् । 

कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिए ।

'पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ', उनले भने । 

उनीहरू ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन् । महिला कैदीबन्दीलाई भने हाल समस्या छैन । 

कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताए । तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ । यसका लागि रु २० लाख बजेट स्वीकृत भएको छ ।

बागलुङ नगरपालिका-९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ । 

असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताए । खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो ।