लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘बढी बाठो’ बन्न खोज्दा प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् । एमाले उपमहासचिव समेत रहेका गुरुङले उनी बढी सत्तामुखी हुँदा अस्थिरता निम्तिएको आरोप पनि लगाए ।
प्रेस चौतारी नेपाल लमजुङले बेंसीसहरमा आइतबार आयोजित पत्रकार भेटघाटमा उनले दाहालप्रति इंगित गर्दै भने,'हाम्रो यो भन्दा अगाडिको प्रधानमन्त्री अलि धेरै बाठो भएर बल्ड्याङ खाएको हो ।’
उनले ‘प्राकृतिक गठबन्धन’ हुने भनेर बाम शक्ति मिलेर सरकार बनाएपनि दाहालले टिकाउन नसकेको बताए । ‘हामीले भर्खर बाम गठबन्धनको सरकार बनाएकै हो । ६२ दिनमै भत्कायो । हामीलाई लागेको थियो, साढे ३ वर्ष यो गठबन्धनमा जाने भनेर । सत्ता परिवर्तन नगर्ने भनेका थियौं । तर, परिस्थितिले कोल्टे खायो’ उनले भने, ‘सायद शेरबहादुर देउवाले पनि, केपी शर्मा ओलीले पनि यही बेला गठबन्धन बनिहाल्छ कांग्रेस र एमालेको भन्ने कुरा कल्पना नै गरेको थिएन । तर, यो मुलुकको परिस्थितिले गराइदियो ।’
उनले मन्त्रिमण्डल बनाउँदा बनाउँदै थाकेकाले ३–५ महिना प्रधानमन्त्री, मन्त्री हुने र फेरिने कार्यको अब अन्त्य हुने विश्वास व्यक्त गरे । उनले वर्तमान गठबन्धनमा २ जना नेता (ओली र देउवा) मिलुञ्जेलसम्म, २ वटा पार्टी मिलुञ्जेलसम्म कुनै समस्या नहुने बताए ।
‘२ पार्टी मिलेपछि १६२ सिट हुन्छ । १३८ ले बहुमत हुने भो । समान्य बहुमत भन्दा धेरै मत हामीसँग छ’ उनले भने, ‘धेरै पार्टीहरुले तपाईंहरुको गठबन्धमा हामी आउँछौं, हामीलाई राख्न पर्यो भन्दै अनुरोध गरेको हुनाले हामीले राखेका छौं । अहिले गठबन्धको पक्षमा दुईतिहाइ भन्दा बढी मत छ । त्यसैले यो सरकार पुरै अवधि चल्छ ।’
उनले कांग्रेस–एमालेको सहमतिलाई थप प्रष्ट्याउँदै भने, ‘अब २ वर्ष केपी ओली प्रधानमन्त्री बन्ने । बाँकी ०८४ को चुनाव हुने बेलासम्म १६–१७ महिना कति हुन्छ, नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा प्रधानमन्त्री बन्ने ।’